काठमाडौ – परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले सञ्चालन गर्ने एसएलसी परीक्षा मंगलबारदेखि सुरु भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जेम्टेडतर्फ ८२ हजार २ सय ८३ विद्यार्थी परीक्षामा सामेल हुने पनिकाले जनाएको छ । चैत १६ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । पहिलो दिन मंगलबार अनिवार्य अंग्रेजीको परीक्षा भएको छ ।
परीक्षा उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भयरहित भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन् । ‘परीक्षाको मर्यादालाई कायम राख्न र अनुशासित परीक्षा सञ्चालन गर्न देशभर निर्देशन दिइएको छ,’ उनले भने, ‘सबै केन्द्रमा आवश्यक तयारी पूरा भएको छ । निगरानी बढाइएको छ ।’ पनिकाका अनुसार सबैभन्दा बढी काठमाडौंमा ३४ हजार र सबैभन्दा कम मनाङमा १ सय ५ जना विद्यार्थीले परीक्षा दिने छन् । देशभर १ हजार ७ सय ४८ केन्द्रमा परीक्षा हुनेछन् । त्यसका लागि ५६ हजार जनशक्ति परिचालन गरिएको छ । रेग्मीले क्षेत्रीय रूपमा परीक्षाको अनुगमन सहसचिवहरूको नेतृत्वमा हुने बताए ।
रुकुममा दुई छात्रा परीक्षा हलमै सुत्केरी
दुर्गालाल केसी
दाङ – रुकुममा एसएलसी परीक्षा दिइरहेका दुई परीक्षार्थीले बच्चा जन्माएकी छन् । पुर्वी रुकुमको तकसेरा र प्वाङ केन्द्रबाट सहभागी परीक्षार्थी हलमै सुत्केरी भएकी हुन् । तकसेरामा रेखा घर्तीले छोरा र प्वाङमा कविता बिकले छोरी जन्माएकी छन् ।
प्रश्नपत्र बितरण गरेलगतै सुत्केरी व्यथा लागेकी रेखाले केही समयमै छोरा पाएकी थिइन् । बच्चा जन्मिसकेपछि उनी परीक्षामा सहभागी भएकी थिइन् । उनलाई एक घण्टा समय थप गरी परीक्षामा सहभागी गराइएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । कविताको भने स्वास्थ्य अवस्था कमजोर भएकाले उनका सहयोगीले परीक्षा दिएको उनले बताए । परीक्षाको दिन जन्मेकाले बच्चाहरुको नाम प्रवेशिका र प्रवेश राखिएको छ ।
यसैगरी रुकुमकै नुवाकोट परीक्षा केन्द्रमा अमर्यादित कार्य गरेको भन्दै तीन शिक्षक र तीन परीक्षार्थीलाई निष्काशन गरिएको छ ।
दाङमा ५ दृष्टिविहिन र तीन कैदीले परीक्षा दिइरहेका छन् । ११ हजार ९ सय ९ परीक्षार्थीमध्ये पहिलो दिन १ सय ५८ जना अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए ।
पूर्वाञ्चलबाट १ लाख २३ हजार परीक्षार्थी
आजदेखि सञ्चालित एसएलसी परीक्षामा पुर्वाञ्चल विकास क्षेत्रबाट एक लाख २३ हजार परीक्षार्थी परिक्षामा सामेल भएका छन् । पुर्वाञ्चलमा गत वर्ष भन्दा १४ हजार बढी परीक्षार्थी सामेल भएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ ।
नियमिततर्फ ९९ हजार १ सय ८ र एक्जेम्टेड समुहतर्फ २४ हजार ५६ परिक्षार्थी परीक्षामा सामेल भएका छन् ।
पूर्वाञ्चलका १ हजार ७ सय ६९ विद्यालयका विद्यार्थी परीक्षामा सामेल छन् । १६ जिल्लामध्ये नियमिततर्फ सबैभन्दा बढी मोरङ्बाट १९ हजार ३ सय २६ र सबैभन्दा कम सोलुखुम्बुबाट २ हजार १ सय ४९ परिक्षार्थी रहेको निमिक्त निर्देशक केवलीराम अधिकारीले जानकारी दिए । पुर्वाञ्चलमा यस वर्ष ४ सय २० परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा मर्यादित रुपमा सञ्चालन गर्न निर्देशनालयले निर्देशन जारी गरेको र सबैजसो जिल्लामा अनुगमन गर्ने जनाएको छ ।
दुई निरीक्षक कारवाहीमा
परीक्षामा अनियमितिमा सघाएको आरोपमा तेह्रथुमको वसन्त उच्च मावी परीक्षा केन्द्रका दुई जना निरीक्षक निस्कासनमा परेका छन् । परीक्षा हल भित्र अमर्यादित गतिविधि गरेको र परीक्षार्थीलाई चिट चोराउन सहयोग गरेको भन्दै शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डे संयोजकत्वको अनुगमन टोलीले परीक्षा सुरु भएको १५ मिनेट मै उनीहरुलाई परीक्षा केन्द्र वाट निस्कासन गरेको हो ।
अनुगमन टोलीले निरीक्षक कौशिला गुरुङ र जीतमाया लिम्वुलाई परीक्षा केन्द्र बाट निस्कासन गरेको हो ।
ढिलो परिक्षा सुरु
पर्वतको दक्षिणी हुवास गाविसमा रहेको जनसेवा संस्कृति उच्च माध्यमिक विद्यालयमा १५ मिनेट ढिला गरेर एसएलसी परिक्षा सुरु भएको छ । ६ वटा विद्यालयको केन्द्र रहेको उक्त विद्यालयमा चेकजांचले गर्दा १५ मिनेट ढिलो गरेर परिक्षा सुरु भएको जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले बताए । उनले अन्यत्र भने समयमै परिक्षा सुरु भएको जानकारी दिए । – कान्तिपुर



