महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार योजना अन्तर्गत भारतले नेपाली भूमिबाट भारततर्फ बग्ने खाँडो नदीको प्राकृतिक बहाबलाई रोक्न दशगजा क्षेत्रमै गैरकानुनी ढंगले बाँध निर्माण कार्य थालेको हो ।
बाँधले सप्तरीको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, वरहीविरपुर, लोनिया, लालापट्टी, छिन्नमस्ता, इनरुवा, कोइलाडी बर्साइन, जमुनी मधेपुरा, फकिरा, गोविन्दपुरसहितका एक दर्जनभन्दा बढी गाविस डुबानमा पर्ने छन् ।
नदीको मुहानमै बाँध निर्माण हुन थालेपछि आउँदो वर्षायाममा यस क्षेत्रका बासिन्दालाई विस्थापित हुनुपर्ने तिलाठी गाविसमा निर्वतमान अध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ । नदीको प्राकृतिक बहाब दक्षिणतर्फ भए पनि भारतले बाँध बनाएर पश्चिमतर्फ फर्काउन लागेको मिश्रले बताए । उनका अनुसार बाढी आएको बखत यस बाँधले यसक्षेत्रका दर्जन बढी गाविसका बासिन्दालाई विस्थापित हुनुपर्छ ।
सीमा क्षेत्रमा हुने भारतीय ज्यादतीविरुद्ध नेपाली पक्ष मौन बसेको तिलाठीका देवनारायण यादवको भनाई छ । अहिले पनि दशगजा क्षेत्रमै बाँध निर्माण कार्यप्रति नेपाली पक्षले चासो नदेखाएको स्थानीय नेपालीहरुले गुनासो छ ।
नदीको प्राकृतिक बहाब बदलिन भारतले उक्त क्षेत्रमा अहिले सिमेन्टका वोराहरुमा माटो हालेर क्रेटिङ्गको काम पूरा गरेर बाँधलाई मजबुत पार्न बाँस र पिलरको सहयोगले ठोस बनाउने काम द्रुत गतिमा चलिरहेको छ ।
सीमा क्षेत्रमा हुने यस्ता समस्यालाई सामाधन गर्न नेपाली पक्षबाट कुनै पहल नभएको भन्दै केही दिन अघि सीमा क्षेत्रका नेपालीले भारतीय पूर्व मन्त्री लालु यादवसमक्ष समस्या समाधान गर्न गुहार माग्न पुगेका थिए । तर, त्यहाँबाट पनि पीडित नेपालीका समस्या समाधान हुन सकेनन् ।
यस सम्बन्धमा भर्खरै सम्पन्न नेपाल-भारत सुरक्षा बैठकमा दुवै देशका अधिकारीबीचको बैठकमा पनि खासै निक्र्यौल निस्कन सकेको थिएन । बैठक पश्चात भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाका डिएम कुमार रविले दशगजामा निर्माण थालेको बाँधको अनुगमन गरी मात्रै केही गर्न सकिने जानकारी दिए ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले पनि आगामी सातासम्म बाँधको अनुगमन गरेर समस्या सामाधान गर्ने दाबी गरे ।
तर, दशगजा क्षेत्रमै भारतले खुल्लेआम बाँध निर्माण थाले पनि नेपाली पक्षले चासो नदेखाएको स्थानीय नेपालीको गुनासो छ । नेपालका तर्फबाट सीमा सुरक्षार्थमा रहेका सशस्त्र प्रहरी सीमा सुरक्षा बलले पनि सीमाको सुरक्षामा गम्भीरताका साथ नलागेकोले बर्सेनी तीन/चार मिटर नेपालतर्फ भारतको सीमा सर्ने गरेको सीमावर्ती नेपालीको भनाइ छ ।



