शान्ति प्रकृया र संबिधान निमार्णमा भ्रमणबारे चर्को आलोचना भइरहदा एमाले झलनाथ खनाल सात दिने नयाँ दिल्ली भ्रमणमा

काठमाडौ – शान्ति प्रकृया र संबिधान निमार्णमा महत्वपुर्ण भुमिका रहेका शीर्ष नेताहरुको विदेश तथा स्वदेश भ्रमणबारे चर्को आलोचना भइरहदा पनि नेकपा एमालेको अध्यक्ष झलनाथ खनाल सात दिने भ्रमणको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । पार्टीले आफ्ना सभासदहरुलाई जेठ १४ सम्म राजधानी नछाड्न हि्वप जारी गरेको भालिपल्टै खनाल भारत गएका हुन् ।

आफ्नै पार्टीको हि्वप उल्लंघन गर्दै खनाल बिहान १० बजे एअर ईन्डियाको विमानबाट एका साताका लागि दिल्ली गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले आफू नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जान लागेको बताए । त्यही अवसरमा जोधपुर विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथीका रुपमा सहभागी हुने उनले जनाकारी दिए । आफ्नो भ्रमण बारे सभामुख र प्रधानमन्त्रीसंग छलफल गरेको उनले बताए । आफ्नो अनुपस्थितिमा शान्ति र संविधानको कुनै काममा बाधा उत्पन्न नहुने उनले जनाए ।

ललितपुरको किष्ट अस्पतालले प्रोटेष्ट सम्बन्धी समस्या भएका खनाललाई उपचारका लागि दिल्ली जान सुझाव दिएको बताईएको छ । दिल्ली बसाईका क्रममा खनालले त्यहाँ उच्च राजनीतिक भेटघाट समेत गर्नेछन् ।

खनालको अनुपस्थितिमा शीर्ष नेताहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले भाग लिने छन् ।