काठमाडौ – माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले बिहीबार बिभिन्न साना दलहरुसंग सरकार विरुद्ध आन्दोलनका लागि मोर्चाबन्दी गरेको छ । पार्टी संस्थापन र सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको वैद्य समूहले विचार मिल्ने विभिन्न दलसंग सहकार्य गरेको हो ।
माओवादी सचिव सीपी गजुरेलको नेतृत्वमा गठित राष्ट्रिय जनपरिषद् मार्फत आन्दोलनलाई तिव्रता दिइने दलहरुबीच छलफल भएको छ । माओवादी मातृका समूह,क्रान्तिकारी कम्युनिष्ट पाटी,जनमुक्ति पार्टी लगायत विभिन्न ११ दलसंग वैद्यपक्षले मोर्चा बनाएको हो ।
छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको व्यापक आलोचना गरिएको थियो । राष्ट्रहित विपरीत सन्धी सम्झौता गरेको, कुशासन बढाएको, मँहगी बढेको,संघीयता बिनाको संविधान ल्याउने षडयन्त्र गरिएकोले सडक,सदन र पार्टी सबै मोर्चाको प्रयोग गरेर सरकार ढाल्ने दलहरुबीच सहमति भएको छ । जेठ १० गतेसम्मका लागि आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने बताइएको छ । – कान्तिपुर



