आज विश्वभर ३० औँ क्षयरोग दिवस मनाइदैछ । नेपालमा पनि क्षयरोग बिनाको संसार, मेरो जीवनमै पार्नुपर्छ साकार भन्ने नाराकासाथ सरकारी र गैरसरकारीस्तरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । नियमित रुपमा औषधी सेवन गरे पूर्ण रुपमा निको हुने क्षयरोगबारे अझै पनि अन्धविश्वास कायम रहँदा रोग निवारणमा समस्या देखिएको छ । क्षयरोग नियन्त्रण गर्नका लागि सरकारले ७५ वटै जिल्लामा डट्स उपचार केन्द्र स्थापना गरेको छ ।
नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिन्छन् भने वर्षेनी ५ हजार व्यक्तिको यो रोगकै कारण मृत्यु हुने अनुमान छ ।
करिब आधा नेपालीको शरीरमा त कुनै न कुनै अंशमा क्षयरोगको ब्याक्टेरिया रहेको विज्ञहरु बताउँछन् । यद्यपि, यस्तो सुषुप्त रुपमा रहेको टीबीको किटाणुका कारण व्यक्तिमा तत्कालै केही असर भने भै हाल्दैन । मुलुकका करीब ४५ प्रतिशत जनसंख्या यही सुषुप्त अवस्थाको टीबीको किटाणु बोकेर हिँडिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनले सन् २०१० मा ८८ लाख व्यक्ति क्षयरोगबाट संक्रमित भएको र १४ लाखले त मृत्युवरण नै गरेको जनाएको छ । यस्ता मृत्युको ९५ प्रतिशत त निम्न र मध्य आय भएका राष्ट्रमा भएको बताइन्छ ।