मधेशवादी दलको पहिचान बनाएको सद्भावना पार्टीले पहाडी जिल्लामा समेत संगठन बिस्तार थालेको छ । सद्भावनाका अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतोले आज कास्कीको पोखरा न्यूरोडमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्दै पहाडी जिल्लामा पनि संगठन विस्तार तीब्र पारिएको जानकारी दिनुभयो ।
२२ बर्ष अघि स्थापना भएर तराईमा केन्द्रित रहेको सद्भावनाले आगामी बैसाखसम्ममा पहाडका सबै जिल्लामा संगठन विस्तार गरिसक्ने जनाएको छ । तराईका जिल्लामा मात्र केन्द्रित हुंदा क्षेत्रीय पार्टी मात्र बनेकोले सबै जिल्लामा संगठन पु-याएर ठुलो पार्टी बन्ने लक्ष्य सद्भावनाले राखेको छ ।
यसअघि सद्भावनाले आफ्नो संगठनमा मधेशी मुलका ब्यक्तिहरुलाई मात्र समेट्दै आएकोमा त्यसलाई परिवर्तन गरी सबैलाई समेट्न थालेको छ ।
कास्की जिल्ला कार्य समितिमा पनि अधिकांश पहाडी मुलका ब्यक्तिहरु रहेका छन् । आफ्नो पार्टीलाई सबै नेपालीको पार्टी बनाउने उद्घोष गर्दै महतोले सद्भावना पार्टी ढाका टोपी लगाउने नेपालीको पनि पार्टी भएको बताउनु भयो । उहांले आफ्नो पार्टीले पनि कांग्रेस, एमाले र माओवादी जस्तै पचहत्तरै जिल्लामा संगठन विस्तार गरेर ठूला दललाई चुनौति दिने बताउनु भयो ।
कार्यक्रममा गण्डकी अञ्चलका तनहुँ, गोरखा, स्याङ्ग्जा र लमजुङ्ग जिल्लाका कार्यकर्ताको उपस्थिति थियो । महतोले सद्भावना पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई पार्टी सदस्यता वितरण पनि गर्नुभयो ।