काठमाडौं – रातो पासपोर्ट दुरुपयोग अभियोगमा निलम्बित सभासद् बीपी यादवले आफ्नै पार्टीका सभासद्समेत रहेका बिना विभागीय मन्त्री राजलाल यादवमाथि हातपात गरेका छन् ।
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) संसदीय दलको सोमबार बसेको बैठकमा मन्त्री राजलालले निलम्बित सभासद् बैठकमा बस्न नमिल्ने बताएपछि उनीमाथि हातपात भएको हो । बीपी यादवले सरकारबाट फिर्ता हुनुपर्ने बताएलगत्तै राजलालले रातो पासपोर्ट काण्डमा दोषि ठहर भई निलम्बित भएकाले बोल्ने अधिकार नभएको बताएपछि हातपात भएको मन्त्रीका स्वकीय सचिव शिवदयाल यादवले बताए ।
हात हालाहालको अवस्था आएपछि संसदीय दलको बैठक स्थगित भएको छ । मन्त्री यादवसहितका सभासद्ले सोमबार नै छुट्टै बैठक गरेका छन् ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेलमा रहेपछि उनले सम्हाल्दै आएको सूचना तथा सञ्चार मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेकाबेला झडप भएको हो । – कान्तिपुर



