पूर्वमन्त्री खुमबहादुर खड्का विरुद्ध चलेको भ्रष्टाचार मुद्दाको सुनुवाइ फेरि सर्‍यो

– घनश्याम खड्का

 

काठमाडौ  – पूर्वमन्त्री खुमबहादुर खड्का विरुद्ध चलेको भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार पनि सरेको छ ।

यसपाला उनको मुद्दा छिन्ने संयुक्त इजलाशका न्यायाधीश कल्याण श्रेष्ठ अदालत नआएकाले सुनुवाइ रोकिएको हो ।

‘म घर बागलुङमा छु’ श्रेष्ठले कान्तिपुरसँग टेलिफोनमा भने,’ अदालतको कुरो थाहा भएन, उतै बुझ्नु होला ।’

सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलका अनुसार श्रेष्ठ साता लामो विदामा बसेका छन् ।

‘सर्वोच्चले पुराना मुद्दाको सुनुवाइ प्राथमिकतामा राखेको छ’ रावलले भने,’न्यायाधीश विदामा बसे पनि, विदेश भ्रमणमा गए पनि र निरीक्षणमा निस्किए पनि कुनै न कुनै पेशी सरेकै हुन्छ तर त्यसलाई कुनै मुद्दा विषेशसँग जोडेर हेर्नु हुँदैन ।’

गत फागुन ३० गते पनि खड्काको मुद्दा श्रेष्ठ नआएकाले सरेको थियो । त्यसबेला उनी पुनरावेदन अदालत धनकुटाको निरीक्षण गर्न गएका थिए ।

‘निरीक्षणको कार्यक्रम पूर्व निर्धारितै थियो’ रावलले भने,’अहिले पनि उहाँ आफ्नो सुविधा अनुसारकै विदामा बस्नु भएको हो, संयोगले खड्काको मुद्दा भएका बेलामा पर्न गयो होला ।’

खड्काको मुद्दा कहिले वकिल, कहिले न्यायाधीश र कहिले उनकै कारण सर्दै आएको छ । एक वर्ष अघि गत वर्षको चैत तेह्रै गते पूर्व प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र सुशीला कार्कीको इजलाशले सर्वोच्चमा दायर भएको चार वर्षपछि खड्काको मुद्दाको पहिलो सुनुवाइ गर्दै उनलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको थियो । खड्काले झण्डै तीन महिनापछि मात्रै तारेख बुझेका थिए ।

खड्काको मुद्दाको पेशी दर्जनौं पटक सर्दै आएको छ । महिनौंपछि गत फागुन १७ गते उनको पेशी परेको थियो । त्यस दिन उनका वकिल बारका अध्यक्ष प्रेमबहादुर खड्काको ‘पोखरा जाने काम परेर’ मुद्दा रोकिएको थियो ।

सर्वोच्चले खड्कोको पेशी चैत २६ गतेका लागि तोकेको छ ।

खड्काविरुद्धको दोस्रो सुनुवाइ गत साउन २२ गते श्रेष्ठ र तर्कराज भट्टराईको संयक्त इजलासले गरेको थियो ।

प्रजातन्त्र पुनर्स्थापना भएदेखि २०५८ मा ज्ञानेन्द्र शाहले संसद विघटन नगरुञ्जेल लगातार मन्त्री भएका खड्काले २ करोड ३६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । पत्नी शिला र छोरी पुनमका नाममा पनि अकुत सम्पत्ति राखेको भन्दै अख्तियारले उनीहरुलाई मतियार मानेको छ ।

खड्का विरुद्ध अख्तियारले २०५९ कात्तिक ४ गते विशेषमा मुद्दा दायर गरेको थियो ।

तर खड्कालाई विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर जबराले २०६३ कात्तिक २९ गते सफाइ दिएका थिए ।

विशेषको फैसला विरुद्ध त्यसै वर्ष अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो । त्यसको चार वर्षपछि सर्वोच्चले विशेष अदालतको फैसलामा ‘गम्भीर त्रुटि’ देखिएको भन्दै खड्कालाई अदालतमा झिकाएको थियो ।

अख्तियारले खड्काको सम्पत्तिको स्रोत खुल्न नसकेको र अमिल्दो र अस्वभाविक जीवनशैली देखिएको अभियोग लगाएको थियो । विशेषका अध्यक्ष अधिकारी नेतृत्वको न्यायाधीश समूहले भने ‘व्यक्तिगत आय व्ययको लेखा राख्नैपर्ने भनि वाध्यात्मक व्यवस्था नभएको स्थितिमा’ त्यसको स्रोत देखाइरहन नपर्ने भन्दै खड्काको ‘पैत्रृक एवं पारिवारीक पृष्टभूमी’ अनुसार जीवनशैली अस्वभाविक नभएको ठहर गरिदिएको थियो ।

‘त्यसकारण जांच अवधिमा प्रतिवादीको आयश्रोतको अनुपातमा निजको साथमा रहेको सम्पत्ति र भएको खर्चलाई अमिल्दो र अस्वाभाविक मानी दावीको कसुर गरेको ठहर गरी सजाय गर्न कानून एवं न्याय संगत हुने देखिदैन’ विशेषले फैसला गरेको थियो,’अतः उल्लेखित आधार कारण तथा मिसिल संलग्न सवुद प्रमाणवाट प्रतिवादी खुम बहादुर खड्काले वैध आयस्रोतको अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको पुष्टिहुन नआएको हुदा निज प्रतिवादीले दाविको कसूर गरेको नठहरी सफाई पाउने ठर्हछ ।’

यो वर्ष पूर्वमन्त्रीहरु चिरञ्जिवी वाग्ले, बहालवाला मन्त्री जयप्रकाश प्रसाद गुप्ता र वायु सेवा निगमका पूर्व प्रमुख रामाज्ञप्रसाद चतुर्वेदीलाई सर्वोच्चले भ्रष्टचारी ठहर गर्‍यो । हाल उनीहरु तीनै जना जेलमा छन् । भ्रष्टाचारका मुद्दा सर्वोच्चले धमाधम ठहर गर्न थालेपछि अरु अभियुक्तले सकेसम्म मुद्दाको पेशी सार्न र यसलाई लम्ब्याउन थालेको देखिन्छ । सार्ने र लम्ब्याउने काम खड्काको मुद्धामा पनि ज्यादै भइरहेको छ ।

भ्रष्टाचारका चार सयभन्दा बढी मुद्दा सर्वाेच्चमा छिनोफानो हुन बाँकी नै छन् । भ्रष्टाचारका यी मुद्दा न्यायाधीशहरुको फौजदारी प्यानलले हेर्न थालेको छ । श्रेष्ठ पनि त्यही प्यानलका हुन् । खड्काको मुद्दा हेर्ने संयुक्त इजलाशका न्यायाधीशमा वैद्यनाथ उपाध्य छन् ।