प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी कृषिमन्त्री नन्दनकुमार दत्तलाई हटाए

प्रधानमन्त्री बाबुराम भट्टराईले कृषिमन्त्री नन्दनकुमार दत्तलाई सोमबार हटाएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवसहित आठ सभासदले उनलाई पदमुक्त गर्न हस्ताक्षरसहित प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए ।

‘बहुमत सभासदको हस्ताक्षर र पार्टीको निर्णयसहितको पत्र आएपछि प्रधानमन्त्रीले मन्त्री दत्तलाई हटाउनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । कृषि मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री ओमप्रकाश यादवलाई दिइएको छ ।

भ्रष्टाचारी ठहर भई अध्यक्ष जयप्रकाश गुप्ता जेल परेपछि नेतृत्व र अन्य विषयलाई लिएर उक्त पार्टीमा विवाद बढ्दो छ । दत्त गुप्ता पक्षधर हुन् ।

अर्का मन्त्री भन्छन्- पार्टीको निर्णय होइन फोरम गणतान्त्रिकका सचिव तथा बिनाविभागीय मन्त्री राजलाल यादवले मन्त्री दत्तलाई हटाउनेबारे पार्टीले कुनै निर्णय नगरेको बताए । कार्यवाहक अध्यक्षले मनोमानी ढंगले पदमुक्त गराएको उनको आरोप छ ।

‘कार्यवाहक अध्यक्ष यादवले पार्टीमा छलफल नगरी मन्त्री फिर्ता बोलाउनु गैरकानुनी हो,’ उनले कान्तिपुरसँग भने, ‘यस्तै हो भने हामी सबै राजीनामा दिन्छौं ।’ यस्तै अवस्था रहिरहे सरकारबाट मात्र नभई मोर्चाबाटै पार्टी फिर्ता हुने उनले चेतावनी दिए ।

दत्तलाई हटाउन हस्ताक्षर गर्नेहरूमा कार्यवाहक अध्यक्ष यादव, सांसदहरू आत्मरामप्रसाद साह, सुरिताकुमारी साह, अकवाल अहमद साह, निलम्बित सभासद बीपी यादव, चन्दि्रकाप्रसाद यादव, ओमप्रकाश यादवलगायत छन् । हस्ताक्षर गर्नेमध्येकै अकवाल अहमदले भने मन्त्री फिर्ताबारे केन्द्रीय समिति र संसदीय दलमा छलफल नभएको बताए ।