माओवादीमा संस्थापन पक्ष दाहाल नभएको वैद्यपक्षीय गजुरेलको दाबी

– रोहित राई

 

धरान  – एकीकृत माओवादीका सचिव एवम् वैद्य पक्षीय नेता सिपी गजुरेलले एघार दलसँग गठबन्धन गरेपछि आफूहरुको विचार समूहले पार्टीको संस्थापन पक्षको मान्यता पाएको दाबी गरेका छन्।

 

संस्थापन पक्ष भनिएका पार्टी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठक राख्‍न नसक्नुले आफ्नो विचार समूहले नै संस्थापनको हैसियत राखेको उनले जिकिर गरे। ‘अध्यक्षले एउटा केन्द्रीय समितिको वैठक त राख्न हैसियत राख्दैन भने हामीले कसरी संस्थापन पक्ष भन्ने ?’-मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘एघार दलले हामीसँग मोर्चा बनाउनु भनेको उहाँहरुले हामीलाई संस्थापन मानेर नै हो, अब हामी नै संस्थापन पक्ष हौं।’

 

अहिलेसम्मको ठूलो गठबन्धन आफ्नो विचार समूहको भएको उल्लेख गदै उनले जनता र दलहरुले जसलाई छान्छ उही नै संस्थापन पक्ष भएको बताए। उनले पत्रकारहरुलाई भने-‘बरु अबदेखि तपाई पत्रकार मित्रहरुले पनि हामीलाई नै संस्थापन भनेर लेखिदिनुपर्यो।’


मोर्चामा रहेका दलहरु साना भएपनि अब चाडै उपेन्द्र यादवको नेतृत्वको मधेशी जनाधिकार फोरम र कांग्रेस, एमालेको एउटा हिस्सा पनि मोर्चामा आउने उनले दाबी गरे।


आफूहरुले पार्टी फुटाउन लागेको भन्ने प्रचार र आरोप पनि झुटो भएको दाबी गदै उनले आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको प्रष्ट पारे। ‘म आफै पनि तपाईहरु सामु रहेर अहिले भन्दैछौं, हामी पार्टी कुनै पनि हालतमा फुटाउने पक्षमा छैनौं, बरु हाम्रो एजेण्डाहरुलाई यही पार्टीभित्र रहेर लागु गछौं’-आफ्ना पक्षीय कार्यकर्ताहरुमाझ रहेर उनले भने -‘हामीले नै बनाएको पार्टी हो, हामी किन छोड्ने?’०४७ सालको संविधानलाई नै गणतन्त्र थपेर नयाँ बनाउन लागेकोले आफुहरुले विरोध जनाएको उनले बताए।