एकीकृत माओवादीका शीर्ष नेताहरुले लडाकु समायोजनका विषयमा लचक बनिदिन एमाले नेताहरुसँग आग्रह गरेका छन् । एमाले शीर्ष नेताहरुसँग आज एमाले संसदीय दलको कार्यालयमा भेट गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सात बुँदे सहमति अनुसार नै समायोजनको प्रक्रिया अघि बढाउन आफुहरु तयार भए पनि केही विषयमा व्यवहारिकता देखाएर लचक बनिदिन आग्रह गर्नुभएको हो ।
उहाँहरुले लडाकुको योग्यता छनौट समितिमा माओवादीको प्रतिनिधित्व गराउन र महासेनानीसम्मको पद दिने व्यवस्था गर्न आग्रह गरेका हुन् । एमाले नेताहरुले भने सात बुँदे सहमति विपरीत समायोजन प्रक्रिया अघि बढाउन नसकिने जवाफ दिएका थिए ।
लचक बन्न सक्ने अवस्था भए पनि कांग्रेससँग छलफल नगरी कुनै टुंगो नलाग्ने जवाफ एमाले नेताहरुले दिएका थिए ।



