मन्त्रिपरिषदको आज बसेको बैठकले ट्राफिक प्रहरीले उठाएको जरिवाना बापतको राजश्वबाट संकलित रकमको १५ प्रतिशत ट्राफिक प्रहरीलाई नै प्रोत्साहन स्वरुप फिर्ता दिने निर्णय गरेको छ ।
ट्राफिक कारबाहीमा उठेको राजश्वको १५ प्रतिशत ट्राफिक प्रहरीलाई प्रोत्साहनस्वरुप दिने निर्णय गरेपछि ट्राफिक नियम पालनामा अरु सुधार हुने अपेक्षा सरकारी अधिकारीहरुले गरेका छन् । ट्राफिकले गत मंसिरदेखि मादक पदार्थ सेवन अर्थात मापसे, स्कुलबस र पैदलयात्री, सिटबेल्ट कारबाहीबाट चालु आथिर्क वर्षको नौ महिनामै झण्डै ६ करोड रुपैयां राजश्व उठाएको छ ।
पछिल्लो सक्रियताले राजधानीको ट्राफिक व्यवस्थामा सुधार देखिएकाबेला सरकारले प्रोत्साहन गरेको हो ।
मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको सञ्चालक समितिमा रिक्त २ पदमा पूर्वसचिव रामहरि अर्याल र श्रीराम पौडेललाई नियुक्त गरेको छ ।
सरकारले जोरपाटीमा बोक्सीको आरोपमा घाइते सुनिता पुडासैनीलाई २ लाख रुपैया सहयोग दिने निर्णय गरेको छ ।
सरकारले इटालीका विश्व साइकल यात्रीलाई सगरमाथा चढ्न लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने निर्र्णयसमेत गरेको छ ।



