कांग्रेसद्धारा संविधानका बिवादित विषय टुंगो लाग्ने बित्तिकै राष्ट्रिय सहमतिको सरकार बन्ने विश्वास व्यक्त

काठमाडौ  – कांग्रेसले संविधानका बिवादित विषय टुंगो लाग्ने बित्तिकै राष्ट्रिय सहमतिको सरकार बन्ने विश्वास व्यक्त गरेको छ । शान्ति प्रक्रिया टुंग्याउन सहमति बन्ने बित्तिकै संविधानका बिवादित बिषयमा सहमति जुट्ने र त्यसपछि बैशाख पहिलो साता राष्ट्रिय सहमतिको सरकार बन्ने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका हुन् ।

सिटौलाले शनिबार कान्तिपुरसंग कुरा गर्दै सहमतिको सरकारका लागि बैशाख पहिलो साता वातावरण बनिसक्ने बताए । ‘सरकार बन्ने वातवरणको ग्यारेन्टी वैशाख पहिलो सातातिर होला । संविधान निर्माणमा विवादित बिषयहरु टुंगिने आधार खडा भएपछि मात्रै राष्ट्रिय सहमतीको सरकारको कुरा हुन्छ’ उनले भने, ‘संविधान बन्ने ग्यारेन्टी वैशाखको ८/१० गते सम्म भईसक्छ । त्यसपछि राष्ट्रिय सहमतीको सरकार बनाउने पहल सुरु हुन्छ । नयाँ सरकार बैशाखभित्र बन्छ ।’

प्रधानमन्त्री बाबुराम भट्टराईपछि कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने सिटौलाको भनाइ थियो । ‘कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बन्नुपर्छ’ उनले भने, ‘अबको सरकार चुनावसम्म पुग्ने भएकाले राष्ट्रिय सहमतीकै सरकार हुनुपर्छ ।’ उनले शान्तिप्रकृया टुंगिसकेपछि भट्टराईको सरकारम सहभागी हुने/नहुनेबारे टुंगो लाग्ने जनाए । ‘शान्ति प्रक्रिया टुंगेपछि बाबुरामजीको सरकारमा जाने, नजाने भन्ने कुरा छलफल हुन्छ’ उनले भने ।

उनले सहमतिको सरकारका लागि माओवादीले वातावरण बनाउनु पर्ने जनाए । ‘वातावरण बनाउन माओवादीकै समर्थन चाहिन्छ’ उनले भने, ‘हामीलाई माओवादीले समर्थन गर्ने हो भने, कांग्रेसले हामीलाई किन नगर्ने भन्ने पनि माओवादीमा होला । हाम्रो नेतृत्वमा कांग्रेस आउनै नहुने, कांग्रेसको नेतृत्वमा हामी जानुपर्ने प्रश्न माओवादीमा उठीरहेको मैले पाएको छु । जे भएपनि अव बन्ने सरकार राष्ट्रिय सहमतीको सरकार हुन्छ ।’

उनले सरकार बन्ने वातवरण भएपछि चुड्कीका भरमा कसले नेतृत्व गर्नेबारे सहमति गर्ने जनाए । ‘सुशील दाको मनमा प्रधानमन्त्री हुने रहर मनको कुनै कुनामा पनि भएको जस्तो मैले पाएको छैन’ उनले भने, ‘आजको दिनम दलको नेताको हैशियतले रामचन्द्रजीनै बन्ने हो । तर, सुशिल दा, शेरवहादुरजी र रामचन्द्रजी बसेरनै यसको टुंगो लगाउनु हुनेछ ।’

प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार एबं माओवादी पोलिटब्युरो सदस्य देबेन्द्र पौडेलले सहमतिको सरकारका लागि बाधक नहुने बताए । ‘राष्ट्रिय सहमति भएपछि संविधान निर्माण प्रक्रिया अघि बढाउन सहज हुन्छ’ उनले भने, ‘सहमतिको लागि माओवादी बाधक हुदैन ।’

उनले चैतभित्र शान्ति प्रक्रिया टुंग्याउने सहमति हुन बित्तिकै सहमतिको सरकारको वातावरण बन्ने जनाए । ‘चैतभित्र शान्ति प्रक्रिया टुंग्याउन सहमति हुन्छ । त्यसपछि कांग्रेस सरकारमा आउने वातावरण बन्छ’ उनले भने, ‘तर सहमति बिना प्रधानमन्त्रीले राजीनामा दिने कुरा हुँदैन । बाबुरामजीकै नेतृत्वमा सरकार बनाउने पहिलो प्राथमिकता हो, भएन भने कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा हो ।’ – कान्तिपुर