पहिलो पटक नवलपरासी अदालतद्धारा घरेलु हिंसा गर्ने परिवारको नाममा अन्तरिम आदेश जारी

– बेचु गौड

 

परासी – पहिलो पटक जिल्ला अदालत नवलपरासीले घरेलु हिंसा गर्ने परिवारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

श्रीमान् सहित घरपरिवारका अन्य सदस्यले श्रीमतीलाई शारिरीक तथा मनासिक यातना दिदै घरेलु हिंसा गरेको भनेर अदालतमा मुद्दा परे पछि शुक्रवार जिल्ला अदालतका जिल्ला न्यायधिस विनोद मोहन अर्यालको इजलासले सो आदेश जारी गरेको हो ।

पीडित महिलामाथि थप हिंसा नहोस भनि पिडित परिवारका अन्य सदस्यहरुको नाममा आदेश गरिएको अदालतले जनाएको छ । पीडितको पक्षबाट परासी स्थित घरेलु हिंसा पिडित महिलाका लागि स्थापना भएको आश्रय केन्द्रले मुद्दा दायर गिरेको थियो । अदालतका अनुसार दुई दिन अगाडी कुटपिट र मानसिक यातना गर्दै घरेलु हिंसामा परेकी पञ्चनगर ७ सुर्यपुराकी सन्तोषी चौधरीका श्रीमान माधव प्रसाद थारु,ससुरा रामचन्द्र थारु,देवर बसन्त थारु र सासु रामरती थारुको नाममा आदेश जारी भएको छ ।

अदालतले गरेको सो अन्तरिम आदेश जिल्ला प्रहरी कार्यालय मार्फत कार्यान्वय गराइने छ । घरेलु हिँसा सम्बन्धि कसुर तथा सजाय ऐन २०६६ को दफा १४ बमोजिम पिडित महिलामाथि थप दुर्घटना हुनसक्ने भएकोले महिलालाई थप हिँस नगरि घरमा खान,लाउन र बस्ने गरि अन्तरिम आदेश भएको आश्रय केन्द्रकी संयोजक विष्णु बनले बताइन् । कुटपिट गर्ने,मानसिक यातना दिएर घरबाट निकालेका थिए ।