केही शिक्षकको मिलेमतोमा सभासदको अनुपस्थितिमा पनि पास गराइएको छ । दुवै परीक्षामा उपस्थित नभएका पुलामीले एसएलसी परीक्षामा नक्कली परीक्षार्थी राखेका थिए ।
मकवानपुर २ बाट संविधानसभामा निर्वाचित पुलामीले रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति उच्च माविको कक्षा ९ मा ०६७ जेठमा भर्ना गरे पनि उनी कक्षाकोठामा हाजिर नभएको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयमा ७० प्रतिशत हाजिर भएपछि मात्र परीक्षा दिन पाउने नियम छ । पुलामीको हाजिरी अर्कैले गर्ने गरेको पाइएको छ । पुलामी हाजिरै नभई कसरी पास भए भन्नेबारे आन्तरिक छानबिन भइरहेको विद्यालायका प्राचार्य योगेन्द्रप्रसाद यादवले बताए ।
‘सभासद आएका छैनन्,’ यादवले भने, ‘कसरी पास भएको हो छानबिन गर्छु ।’ वाईसीएल अध्यक्ष असन श्रेष्ठमार्फत सभासद पुलामीसँग सम्पर्क गर्दा उनले सञ्चारकर्मीसामु आफूले कुनै प्रतिक्रिया नदिने भन्दै पन्छिए । ‘पत्रकारले बोलेको कुरा नलेखी अरू कुरा लेख्छन्,’ पुलामीको भनाइ उदृत गर्दै वाईसीएल रौतहट अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले कुरा गर्दिनँ ।’
टेस्ट सहजै पास भएपछि सभासद पुलामीको एसलएलसी परीक्षाका लागि हेटौंडाका शिक्षक गोकुल लम्सालले रौतहटमा सबै व्यवस्था मिलाई नक्कली परीक्षार्थीका रूपमा मकवानपुर नामटार ८ का साहित्य लामालाई दिन लगाएको चन्द्रनिगाहपुरका एक शिक्षकले बताए ।
स्रोतका अनुसार पुलामीको नाममा परीक्षा दिने लामाले प्रवेशपत्र नक्कली बनाई छाप र हस्ताक्षरसमेत किर्ते गरेका छन् । सभासद पुलामीको साटोमा नक्कली परीक्षार्थी बसेको सुरक्षा अधिकारीले पहिले नै सुइँको पाए पनि जिल्लाका सबै परीक्षा केन्द्रमा खोजी गर्दासमेत फेला पारेको थिएन ।
ऐच्छिक गणित विषयको दिन सदरमुकाम गौरबाट खटेेको सशस्त्र प्रहरीका नायब उपरीक्षक रामकुमार सिंह र शिक्षा कार्यालय गौरका विद्यालय निरीक्षक पशुपति महतोको टोलीले श्रीउच्च मावि जुडिबेला परीक्षा केन्द्रबाट सभासद पुलामीको नाममा परीक्षा दिन बसेका लामा पक्राउ परेका थिए । सभासद पुलामीको प्रवेशपत्रको सिम्बल नम्बर ०३५५०४६ ‘पी’ मा लामा सुरुदेखि परीक्षा दिन बसेका थिए । ०६५ सालमा एसएलसी परीक्षा पास गरेका लामा सभासद पुलामीका सालो हुन् ।
शिक्षा ऐनअनुसार नक्कली विद्यार्थीलाई परीक्षा दिलाउनेलाई एक लाख जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । लामालाई रिहा गर्न माओवादीका उच्च नेताले प्रशासनमा दबाब दिएको स्रोतले बताएको छ । हिरासतमा रहेका लामालाई भेट्न सभासद पत्नीसहित शुक्रबार रौतहट आएका थिए । प्रहरी उपरीक्षक ठूले राईले शिक्षा ऐनअनुसार लामालाई कारबाही हुने बताए ।



