अनौपौचारिक रुपमा फुटिसकेको माओवादी मोहन वैद्य पक्षद्धारा देशभर हस्ताक्षर अभियान

माओवादी वैद्य पक्षले चलायो देशव्यापी हस्ताक्षर अभियान


शान्ति र संविधानका लागि भन्दै माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले आज विहानैदेखि देशभर हस्ताक्षर अभियान थालेको छ । मुलुकका सबै निर्वाचन क्षेत्रमा गरिने हस्ताक्षर अभियानको उपाध्यक्ष वैद्यले काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत बानेश्वरमा सुरुवात गर्नुभयो ।

 

चाबहिलमा भने महासचिव रामबहादुर थापाले असभयानको थालनी गर्नुभयो । शान्ति, जनसंविधान, राष्ट्रियता, जनजीविका, राष्ट्रिय सहमतिको सरकार र पहिचानसहितको संघीयताका लागि हस्ताक्षर गरिएको नेताहरुले जनाएका छन् ।

हस्ताक्षर चलाएर वैद्य पक्षले संस्थापनलाई दबाब बढाइरहेका बेला माओवादी संस्थापन पक्षले भने नेवाः राज्य समिति अन्तर्गतका कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । भेलामा प्रचण्ड र भट्टराई पक्षीय नेताहरुले आन्तरिक प्रशिक्षण दिएका छन् ।

यता, माओवादीका संस्थापन पक्षका नेताहरुले भने वैद्य समूहको अराजक गतिविधिको प्रतिरोध गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैद्य समूहको गतिविधि अराजक भएकोले राजनीतिक, वैचारिक र सांगठनिक रुपमा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । माओवादी नेवाः राज्य समितिले आज काठमाडौंमा गरेको भेलामा उहाँहरुले यस्तो निर्देशन दिनुभएको हो ।
भेलामा काठमाडौं आसपास जिल्लाका माओवादी कार्यकर्ताको सहभागीता थियो ।