काठमाडौं – शान्ति र संविधान निर्माणमा गम्भीर छलफल गर्नुपर्ने बेला कांग्रेस सभापति सुशील कोइराला सोमबार सिरहामा पार्टीको आमसभामा सहभागी भए । सिरहाको आमसभा सकेर उनी सोमबार साँझ धनुषा पुगेका छन् । उनले त्यहाँ मंगलबार हुने आमसभालाई पनि सम्बोधन गर्नेछन् ।
शनिबारदेखि राजधानीबाहिर रहेका कोइराला २७ गतेमात्रै फर्कने छन् । उनका एक सहयोगीका अनुसार, यसबीचमा कोइरालाले पार्टीका झन्डै आधादर्जन आमसभालाई सम्बोधन गर्नेछन् । धनुषाबाट उनी सर्लाही, चितवन र नवलपरासीका कार्यक्रम सकेर राजधानी र्फकनेछन् । पार्टीका नेताहरूले सभापति नहुँदा वार्ता र छलफलमा कुनै असर नगर्ने बताए पनि कोइरालाको अनुपस्थितिमा सहमति बन्ने सम्भावना कम छ ।
आफ्नो अनुपस्थितिमा वार्ताको नेतृत्व गर्न कार्यवाहक सभापतिलाई अधिकार दिइएका उपसभापति रामचन्द्र पौडेल पनि सोमबार सिरहाको आमसभालाई सम्बोधन गर्न पुगे । उनी पनि दुई दिन राजधानीबाहिरै हुने स्रोतले बतायो । पौडेलले उपसमिति बैठक बोलाए आफू जहाँ भए पनि तुरुन्त आउने बताए । ‘उपसमिति, संवैधानिक समिति या अन्य वार्ता बस्ने कुरा हुनासाथ जहाँ गए पनि आउने गरी जान लागेको हो,’ जानुअघि पौडेलले भने, ‘कांग्रेसबाट कुनै असर पर्न दिँदैनौं ।’
संविधान निर्माण र शान्तिप्रकृयामा असर नपरोस् भनेर धनगढी र नेपालगंजमा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रम स्थगन गरिएको उनले बताए ।
सभापति बाहिर गए पनि वार्ता र छलफलमा कुनै असर नपर्ने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए । वार्ता र छलफलका लागि पूर्ण अधिकार प्रत्योजित गरेर मात्रै सभापति राजधानीबाहिर गएको उलने जनाए ।
यसैबीच पार्टीको हि्वप विपरीत देशबाहिर रहेका कांग्रेस नेता विमलेन्द्र निधिले बेल्जियममा विरोधको सामना गर्नुपरेको छ । बेल्जियममा जनसम्पर्क समितिमा आबद्ध एउटा समूहले उनी सहभागी कार्यक्रम बहिष्कार गर्दै देश र्फकन दबाब दिएको छ । ‘शान्ति र संविधानमा व्यस्त हुनुपर्ने समयमा परिवारसहित विदेश शयर गर्दा पार्टीलाई अप्ठ्यारो पर्छ, तपाईं नआउनुहोस् भनेर हामीले भनेका थियौं,’ नेपाल तरुण दल महिला परिचालन समितिका पूर्व उपप्रमुख सीता सापकोटाले सोमबार च्याटमार्फत कान्तिपुरलाई भनिन् ‘जबरजस्ती आउनुभएपछि बहिष्कार गर्नुपरेको हो ।’
निधि स्विट्जरल्यान्ड, नेदरल्यान्ड, फ्रान्स हुँदै अहिले बेल्जियममा छन् । उनी श्रीमती र दुई छोरासँगै एक साताअघि विदेश गएका हुन् । पार्टीले देशबाहिर नजान हि्वप जारी गरे पनि निधिले त्यसलाई अटेर गरेपछि पार्टीभित्र पनि विरोध भएको छ । – कान्तिपुर



