भ्रष्टाचार मुद्दामा विशेष अदालतद्धारा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई सफाइ

काठमाडौं – भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई सफाइ दिएको छ ।

अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बुधबार पूर्व प्रहरी महानिरीक्षक खरेलसँग रहेको सम्पत्ति आयभन्दा कम देखिएकाले गैर कानुनीरुपमा सम्पत्ति आर्जन गरेको भन्न नमिलेकाले सफाइ दिएको हो ।

पूर्व प्रहरी महानिरीक्षक खरेल र उनको परिवारसँग घर, जग्गा, गाडी, सेयर, बैंक ब्यालेन्सलगायत गरी जम्मा रु एक करोड ८९ लाख ५८ हजार ३१६ बराबरको सम्पत्ति रहेको, सो अवधिमा उनीसँग स्रोत खुलेको वैध आय रु एक करोड ९२ लाख २६ हजार ७४२ देखिएकाले रु दुई लाख ६८ हजार ४२५ आयभन्दा कम नै देखिन आएको फैसलामा उल्लेख भएको रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार पूर्व प्रहरी महानिरीक्षक खरेलसँग वैध आम्दानीभन्दा कम नै सम्पत्ति रहेको देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने अभियोग दाबी पुग्न नसक्ने भई पत्नी मीना खरेल र छोरा आयुष खरेललाई पनि सो अभियोगबाट सफाइ दिइएको छ ।

सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक खरेल र मोतिलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेषको निर्णय उल्ट्याउँदै पुनः सुनुवाईका लागि पठाएको थियो । अकुत सम्पत्ति जोडेको मुद्दामा बोहरालाई भने विशेषले डेढ वर्ष कैद तथा जरिवाना र बिगो दुवै गरी ५३ लाख रुपैयाँ तिराउने फैसला मङ्गलबार गरेको थियो ।

२०५३ देखि ०५७ सम्म बहाल गरेका खरेलले एक करोड ६३ लाख ३६ हजार एक सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले २९ साउन ०६१ मा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतका तत्कालिन न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमसेर जबराले हदम्याद नलाग्ने भन्दै उनीमाथि लागेको भ्रष्टाचार मुद्दा खारेज गरेका थिए । – कान्तिपुर