माओवादी पुष्पकमल दाहालका छोरा प्रकाशलाई सगरमाथा आरोहण शुल्क ७० लाख रुपैयाँ मिनाहा

काठमाडौं  – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश र केन्द्रीय सदस्य कृष्ण केसीसहितको ११ सदस्यीय सगरमाथा आरोहण दललाई आरोहण शुल्क मिनाहा दिन प्रस्ताव गरेको छ ।

मन्त्रालयको पर्यटन उद्योग प्रवर्द्धन महाशाखाले दाहाल-केसी नेतृत्वको ‘लुम्बिनी-सगरमाथा शान्ति अभियान-२०१२’ लाई आरोहण दस्तुर मिनाहा गर्न अर्थ मन्त्रालयसित सहमति माग गरेको हो । अर्थको सहमति आउनासाथ पर्यटनले आगामी मन्त्रिपरिषद् बैठकमा आरोहण शुल्क मिनाहाका लागि प्रस्ताव पठाउनेछ । मन्त्रिपरिषद्को निर्णयपछि केसी र दाहालसहितको आरोहण दलले आरोहण शुल्क मिनाहा पाउनेछ ।

निश्चित उद्देश्यका साथ सगरमाथा चढ्ने सबै नेपाली टोलीलाई सरकारले आरोहण शुल्क मिनाहा दिँदै आएको छ । त्यही व्यवस्थाअनुसार सरकारले दाहाल-केसी नेतृत्वको आरोहण दललाई समेत आरोहण शुल्क मिनाहा दिन लागेको हो ।

मन्त्रिपरिषद्बाट शुल्क मिनाहाको निर्णय गर्न बाँकी रहँदै दाहाल-केसी नेतृत्वको ११ सदस्यीय टोलीले बुधबारदेखि आफ्नो सगरमाथा आरोहण अभियान सुरु गरेको छ । अभियान टोलीमा सबै माओवादीका नेता-कार्यकर्ता संलग्न छन् । एसियन ट्रेकिङ उक्त टोलीको व्यवस्थापक रहेको छ ।

सगरमाथा आरोहण गर्न ६ जनासम्मको टोलीलाई २५ हजार अमेरिकी डलर -२० लाख २५ हजार रुपैयाँ) आरोहण शुल्क तिर्नुपर्छ । आरोहण दलमा ६ भन्दा बढी सदस्य रहेमा प्रतिव्यक्ति १० हजार डलरका दरले थप ५ जनाका लागि थप ४८ लाख ६० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । सरकारले केसी र दाहालसहितको आरोहण दललाई करिब ७० लाख रुपैयाँ शुल्क मिनाहा दिन लागेको हो ।

माओवादी नेतृत्वको सरकारले ‘लुम्बिनी-सगरमाथा शान्ति अभियान-२०१२’ लाई सगरमाथा आरोहण गर्न २ करोड रुपैयाँ सहायता दिने निर्णय गरेको थियो । तर कांग्रेस, एमाले तथा तिनका भ्रातृ संगठनसहित सर्वत्रबाट तीव्र विरोध गरेपछि केसी र दाहालले सरकारको सहयोग नलिने घोषणा गरेका थिए ।

आरोहण दलका सदस्यहरूले शान्ति, संविधान र पर्यटन विकासका लागि आफूहरूले लुम्बिनीदेखि सगरमाथाको चुचुरो पुगेर र्फकने अभियान सुरु गर्न लागेको दाबी गरेका छन् । तर आलोचकहरू भने सगरमाथा चढेर शान्ति र संविधान नआउने भन्दै विरोधमा उत्रिएका थिए ।

-कान्तिपुर