
पत्रकार यादव पौडेलको हत्याको विरोधमा झापाको बिर्तामोडमा आज विरोध -याली निकालिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको नेतृत्वमा निस्किएको जुलुसमा राजनीतिकर्मी, व्यापारी, व्यवसायीलगायत सबै क्षेत्रका सयौं मानिस उपस्थित थिए ।
बिर्तामोडबाट शुरु भएको -याली नगरको विभिन्न भागको परिक्रमा गरि हत्या भएको स्थान बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा सहभागीले कानुनी शासनको माग गर्दै नाराबाजी गरे ।
हत्यारालाई कारबाही र पत्रकारको जिउज्यानको सुरक्षाको माग उनीहरुको थियो । एभिन्युज टेलिभिजन र राजधानी दैनिकका संवाददाताका रुपमा कार्यरत पौडेल स्थानीय दैनिक मेची टाइम्सका कार्यकारी सम्पादक थिए । घटना भएको २४ घण्टा बितिसक्दा पनि हत्याराको अझै पहिचान हुन सकेको छैन ।