काठमाडौं – माओवादी उपाध्यक्ष मोहन वैद्यले बाबुराम भट्टराई नेतृत्वको सरकार कठपुतली भएको आरोप लगाएका छन् ।
जनयुद्ध दिवसको अवसरमा आफ्नो समूहले रत्नपार्कमा रहेको कार्यक्रममा वैद्यले राष्ट्रघात गर्न सरकारले कांग्रेस-एमालेलाई पनि उछिनेको बताए । ‘यो सरकार माधवकुमार नेपालकोजस्तै कठपुलती हो,’ उनले भने, ‘राष्ट्रघाती बिप्पा सम्झौता गरेर यसले कांग्रेस-एमालेलाई पनि उछिनेको छ ।’
माधवकुमार नेपाल सरकार ढाल्न दुई वर्षअघि भएको हड्तालमा माओवादी उपाध्यक्षसमेत रहेका भट्टराईले तत्कालिन सरकारलाई कठपुतली भनेका थिए ।
वैद्यले जनताको संविधान लेख्न नदिने षड्यन्त्र भए विद्रोह हुने चेतावनी दोहोर्याए । ‘४६ दोहोरिँदैछ, अर्को झड्का हुँदैछ,’ उनले भने, ‘क्रान्तिको झण्डा नेतृत्वले छाडे हामी बोक्छौं, नेतृत्व बिग्रेर सती गए हामी जानेवाला छैनौं, त्यसबेला निश्चितरुपमा विद्रोह हुन्छ ।’
जनआन्दोलन दिवसमा दुई थरी कार्यक्रमबारे वैद्यले भने, ‘यो पनि अवसरवादी, दलाल, पुँजीपती र अभिजातवर्गविरुद्धको विद्रोह हो ।’ उनले जनसंविधान बन्न नदिन कांग्रेस-एमालेसँगै पार्टीभित्रको अभिजात वर्ग पनि सक्रिय रहेको आरोप लगाए । – कान्तिपुर



