काठमाडौ – प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल शान्ति प्रक्रिया टुंग्याई समयमै संविधान निर्माणका लागि दबाब दिन आइतबार राजधानीमा बृहत् जनशक्ति प्रदर्शन र आमसभा गर्ने घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार कांग्रेसले २०४६ सालमा जनआन्दोलन सफल भएको दिन पारेर राजधानीको रत्नपार्कस्थित स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी जुलुस सुरु गर्ने र वसन्तपुरमा आमसभा गर्न लागेको हो ।
कांग्रेसले संविधानसभाको म्याद ५२ दिन रहँदा सबभन्दा ठूलो दल माओवादीको नेतृत्व जिम्मेवार नभएकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण दुवै अनिश्चित बनेको उल्लेख गर्दै केन्द्रीय नेताहरूको नेतृत्वमा राजधानीमा बृहत् जनप्रदर्शन र आमसभा गर्ने घोषणा गरेको हो ।
पार्टीका तर्फबाट काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले शुक्रबार वक्तव्य जारी गरी माओवादीले विभिन्न समयमा गरेका सहमति र सम्झौता उल्लंघन गरी नयाँ सर्त राख्दै शान्ति प्रक्रिया र संविधान निर्माणमा अवरोध सिर्जना गरेको उल्लेख गरे ।
कांग्रेसले समयमै शान्ति र संविधान निर्माण गर्न तथा बढ्दो हत्या, असुरक्षा, दण्डहीनता, भ्रष्टाचार, महँगी र राज्य आतंक बन्द गर्नका लागि हुने लोकतन्त्रवादीहरूको जनशक्ति प्रदर्शनमा सहभागी हुन आम नागरिक समाज र पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेको छ । बृहत् जुलुस प्रदर्शन र आमसभाको नेतृत्व कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नरहरि आचार्यलगायतले गर्ने जानकारी पार्टीले दिएको छ । – कान्तिपुर



