राष्ट्रिय जनमुक्ति पार्टीद्धारा सरकार, सदन र सडकबाट आन्दोलन गर्ने घोषणा

काठमाडौ  – जातीय पहिचानका आधारमा राज्य पुनःसंरचना सुनिश्चित गर्न तथा निर्धारित समयमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले राष्ट्रिय जनमुक्ति पार्टीले सरकार, सदन र सडकबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।

पार्टीद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा आन्दोलन परिचालन समितिका संयोजक केपी पालुङवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन गत मङ्सिरमा प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट बुझाइएको दसबुँदे ज्ञापनपत्र र त्यसपछि चैतमा गराइएको स्मरणपत्रको सुनुवाइ नभएपछि आन्दोलन घोषणा गर्नुपरेको जानकारी दिए ।

उनले निर्धारित समयमा सार्थक संविधान नआउने, सङ्घीयताविनाको संविधान जारी गर्ने, पहिचानसहितको सङ्घीयता आउन नदिने र मुलुकका जनजाति, दलित, महिलालगायत हक अधिकारविपरीत पछिल्ला गतिविधि भइरहेकाले आन्दोलनको विकल्प नभएको स्पष्ट पारे ।

पार्टी स्थायी समिति सदस्य खिलध्वज थापाले सम्पूर्ण नेपालीको जातीय पहिचान सहितको सङ्घीय गणतन्त्र नेपालको संविधान जारी गराउन, राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउन, धर्मनिरपेक्षतालाई व्यवहारमा लागु गर्न र जेठ १४ भित्रै संविधान जारी गर्नुपर्ने माग सहित आन्दोलनका कार्यक्रम तय गरिएको पनि बताए ।