काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार दुई नयाँ मन्त्रीलाई सपथ खुवाएका छन् ।
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का राजकिशोर यादव र मो. अकवाल अहमद शाहलाई सपथ खुवाएका हुन् । यादवलाई सूचना तथा सञ्चार र अहमदलाई कृषि मन्त्रीको सपथ गराइएको छ ।
फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका सञ्चार मन्त्री जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेका छन् भने कृषि मन्त्री नन्दनकुमार दत्तलाई संसदीय दलका बहुमत सदस्यको सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।
माओवादी-मधेसवादी गठबन्धनमा फोरम गणतान्त्रिकले सञ्चार, कृषि र बिना विभागीय मन्त्रालय पाएको छ । बिना विभागीय मन्त्री राजलाल यादव पनि जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट छन् ।
प्रधानमन्त्री भट्टराईले छैटौं पटक सरकारको पुर्नगठन गरेका हुन् । यसअघि भदौ १२, १८, २९ असोज १ र कात्तिक २२ गते प्रधानमन्त्रीले मन्त्रिमण्डले पुर्नगठन गरेका थिए ।
यसैबीच पुर्नगठित मन्त्रिमण्डल पुनः ४९ सदस्यीय भएको छ । ४८ सदस्यीय शेरबहादुर देउवा सरकारलाई उछिन्दै यो अहिलेसम्मकै ‘जम्बो’ मन्त्रिपरिषद् हो । –कान्तिपुर



