नेपाली कांग्रेसको एक दिने पाल्पा बन्दले जनजीवन प्रभावित

– माधब अर्याल

 

पाल्पा – नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको एक दिने जिल्ला बन्दले मंगलबार बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । तरुणदल जिल्ला सदस्य तथा कांग्रेस कार्यकर्ता दिपक घिमिरेलाई प्रहरी नायव उपरीक्षक मीरा चौधरीले प्रहरी कार्यालयभित्रै दुव्र्यवहार गरेको विरोधमा बन्द आव्हान गरिएको हो ।

कांग्रेसले प्रनाउ चौधरीले माफी माग्नुपर्ने माग आगडि तेर्साउदै बन्द आव्हान गरेको सभापति बीरबहादुर रानाले बताए । बन्दले जिल्लामा बिहानैदेखि निजी तथा सार्वजनिक सवारी साधन संचालन भएको छैन । यातायात, कलकारखाना, विद्यालय बन्द छन् । कांग्रेस कार्यकर्ता बिहानैदेखि पसल, बजार बन्द गराउन सडकमा उत्रिएका छन् । उनीहरुले प्रहरी प्रशासन विरुद्ध चर्कानाराबाजी समेत गरेका छन् । पाल्पा बन्दले तानसेनदेखि तम्घास र सिद्धार्थ राजमार्गमा समेत यातायातका साधन चल्न सकेका छैनन् ।

सोमवार जिल्ला प्रशासनमा कांग्रेस नेता तथा प्रहरीप्रशासन बीच बार्ता बस्दा चौधरीले दुव्र्यवहार नगरेको भन्दै सार्वजनिक माफी माग्न नमानेपछि पार्टीले बैठक गरेर मंगलवार बन्दको घोषणा कांग्रेसले गरेको थियो । २० बढी कांग्रेस कार्यकर्ता र प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेसमेतको बार्तामा चौधरीले आफू जागिर छाड्न तयार तर, माफी नमाग्ने जनाएपछि बन्द कार्यक्रम कांग्रेसले ल्याएको हो । प्रजिअ घिमिरेले सार्वजनिक माफी माग्नुपर्ने गरी जघन्य अपराध डिएसपी चौधरीले नगरको बताए ।

केहीदिन अघि पाल्पाको कसेनीमा भएको मोटरसाईकल र ट्याक्टर ठोक्किएर भएको दुर्घटनाको विषयलाई लिएर छलफल गर्न प्रहरी कार्यालय पुगेका घिमिरेलाई आइतवार कार्यालय परिसरमा चौधरीले धकेल्दै दुव्र्यवहार गरेको आरोप कांग्रेस र तरुणदलले लगाएका छन् । घिमिरेले मोटरसाइकल दुर्घटनाका मृतकलाई क्षतिपुर्ति दिलाउन वकालत गर्न गएको बताए । सभापति रानाले सचेत नागरिकमाथि जिल्ला प्रहरी कार्यालय परिसरमै अपमान गर्नु चौधरीले आफुमा भएको शक्ति दुरुपयोग गरेको बताए ।

प्रहरी प्रमुख चौधरीले भने दुवै पक्षको मिलापत्र हुन खोज्दा घिमिरेले विवाद ल्याउन खोजेपछि कार्यालयवाट बाहिर निस्कन अनुरोध गरेको बताएकी छिन् ।