माओवादी लडाकुको शिविरहरुमा नेपाली सेनाको टोली प्रवेश

शक्तिखोर, चितवन – तीन दल र मधेशी मोर्चाको शीर्ष नेतासहितको बैठकले मंगलबार गरेको निर्णय अनुसार माओवादी लडाकुको शिविरहरुमा नेपाली सेनाको टोली प्रवेश गरेको छ । बिशेष समितिले लडाकु, हतियार र शिविरको भौतिक संरचनाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । 

 नेपाली सेना, शसस्त्र र नेपाल प्रहरी दहवनमा 

 काशीराम डाँगी

 रोल्पा: माओवादी लडाकु, लडाकु बसेको शिविर र कन्टेनरमा राखिएको हतियार नेपाली सेनाको नियन्त्रणमा लिने सरकारको निर्णय अनुसार नेपाली सेनाको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सुरक्षा टोली लडाकुको रोल्पास्थित पाँचौ डिभिजन मुख्य शिविर दहवन पुगेको छ । 

 मओवादी वैद्य पक्षका कार्यकर्ताले शिविर र त्यहाँ रहेको हतियार कब्जा गर्ने तयारी गरेपछि माओवादी रेखदेख, समयोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिले रोल्पामा शिविर सेनालाई जिम्मा लगाएको हो । 

 दहवनमा नेपाली सेनाको दाङस्थित १९ नं बाहिनीबाट १२७ जनाको सैनिक आइपुगेको छ । त्यस्तै भालुबाङस्थित सशस्त्र प्रहरी बल र जिल्लास्थित जिल्ला प्रहरीबाट नेपाल प्रहरी आएको हो । सेनाको नेतृत्व सेनानीले गरेका छन् भने सशस्त्र र नेपाल प्रहरीको नेतृत्व प्रहरी निरीक्षकले गरेका छन् ।  

 लडाकुको पुनर्वर्गीकरण गरिरहेका बेला वैद्य पक्ष कार्यकर्ता र यस अघि नै विभिन्न पटक वहिर्गमनमा गइसकेका पूर्व लडाकुले आक्रमण गर्न सक्ने भएकाले सेनालाई सुरक्षा दिन आग्रह गरिए अनुसार सेना आइसकेको डिभिजन अन्तर्गत ब्रिगेड कमाण्डर दिपेन्द्र शाही युगान्तले बताए ।