संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले माओवादी लडाकु समायोजनमा दलहरुले गरेको सहमतिको स्वागत गर्नुभएको छ ।
महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा माओवादी लडाकुको समायोजन तथा पुनस्र्थापना पूरा हुने आशा पलाएको उल्लेख छ । उहाँले आम सहमति निर्माणको यो क्रमले समयमै शान्ति प्रक्रिया पूरा गर्न र नयाँ संविधान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
महासचिव बानले शिविरको सुरक्षा र हतियार हस्तान्तरणमा राजनीतिक दल, नेपाल सरकार, नेपाली सेना, माओवादी कमाण्डर तथा लडाकुको भूमिकालाई स्वीकार गरिएको विज्ञप्तिमा जनाइएको छ ।
महासचिव बानले पीडितका लागि संक्रमणकालीन न्याय र अन्तर्राष्ट्रिय कानूनको पनि ख्याल गर्न दलहरुसँग आग्रह गर्नुभएको छ । उहाँले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाउनुभएको छ ।