जेठ १४ मा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरी काठमाडौंमा नयाँ सुरक्षा

– मकर श्रेष्ठ

 

काठमाडौं, वैशाख ६ – महानगरीय प्रहरी आयुक्तको कार्यालयले जेठ १४ मा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरी उपत्यकामा नयाँ सुरक्षा रणनीति तयार गरेको छ । कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा जेठ १ देखि १५ सम्मको नयाँ सुरक्षा योजना मंगलबार सार्वजनिक गरेको हो ।

जेठ १४ मा संविधानसभाको म्याद सकिँदा पनि संविधान नबने हुन सक्ने बन्द, हड्ताल, तोडफोड, विस्फोट, आगजनीका घटनाको विश्लेषण गरेर सुरक्षा रणनीति तय गरेको आयुक्त कार्यालयका प्रवक्ता एवं एसएसपी रविराज श्रेष्ठले बताए । ‘समर्थन र विरोधमा हुने क्रियाकलापहरूबाट शान्ति सुव्यवस्थामा असर पर्न नदिन सुरक्षा व्यवस्थापन चुस्त र दुरुस्त बनाउने गरी नयाँ योजना सार्वजनिक गरेका हौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा सुरक्षाका अन्य निकायलाई सक्रिय बनाइनेछ ।’

योजनाअनुसार प्रथम चरण जेठ १ देखि १५ सम्मको सुरक्षा योजना बनेको छ । यस अवधिसम्ममा हुने घटनाको आकलन र विश्लेषण गरी आवश्यक ठानिएमा थप रणनीतिसहित अर्को चरणको सुरक्षा योजना बनाई कार्यन्वयन गरिने उनले बताए । सम्भावित घटना रोक्न तीनै जिल्लामा गरी ५ सय ३२ सुरक्षाकर्मी थपिएको छ । थपिएकामध्ये काठमाडौंंमा ५ जना निरीक्षकसहित ३ सय ३३ जना छन् । काठमाडौंमा परिचालन हुने प्रहरी संख्या ३ हजार २५ जनाको हुने सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

ललितपुरमा ४ जना प्रहरी निरीक्षकसहित ९५ जना प्रहरी थपी ८ सय ४६ र भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक सहित १ सय ४ जना थप गरी ८ सय ६ जना प्रहरी सुरक्षाका लागि खटिनेछन् । उपत्यकाका तीनै जिल्लामा गरी ४ हजार ६ सय ७७ जना प्रहरी खटिने कार्यालयले जनाएको छ । संविधानसभा वरिपरि सुरक्षाका लागि तीन वटा घेरा बनाइएको छ । त्यसमा भित्र एउटा र बाहिर दुई वटा हुने एसएसपी श्रेष्ठले बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेक प्वाइन्ट बढाएको छ । उपत्यका छिर्ने सबैजसो नाकामा चेकजाँचमा कडाइ, शंकास्पद स्थानमा छापा मार्ने, अस्थायी पिकेट, मोटरसाइकल गस्ती, सादा पोसाकको प्रहरी परिचालन, एम्बुसिङ बढाएको उनले बताए । सिंहदरबार, उच्च तहका अधिकारी निवास, सरकारी कार्यालय, कूटनीतिक नियोग लगायतको सुरक्षा बढाइएको छ ।

भीडभाड हुने अन्य ठाउँमा पनि सीसीक्यामरा जडान गरेर दृश्य कैद गर्ने तथा विशेषज्ञ कुकुरबाट समेत गस्तीलाई तीव्र बनाउने श्रेष्ठले जानकारी दिए । त्यस्तै, काठमाडौंका चक्रपथ बाहिर नागढुंगा, सतुंगल, मोडखु, नलिन्चोक, चोभार, मनोहरा पुल तथा रिङरोडभित्रको क्षेत्रमा २४ सै घन्टा चेप्वाइन्ट राखिएको उनले बताए । उपत्यकाका ग्रामीण भेगमा प्रहरीले लामो दूरी गस्ती सुरु गरेको छ । नगरको भित्री भागका विभिन्न स्थानमा स्थायी र अस्थायी पिकेटको व्यवस्था गर्नुको साथै पैदल गस्ती समेत बढाएको छ ।

उपत्यकाका तीनै जिल्लालाई मनिटरिङ गर्न आयुक्त कार्यालयमा ज्वाइन्ट अपरेसन कोअर्डिनेसन सेल (जेओसीसी) खडा गरेको जनाएको छ । यसले तीनै वटा सुरक्षा निकायबीच समन्वय गर्छ ।