न्यूयोर्कमा रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सी.पी.जे.) को दण्डहीनता सूचकांकमा नेपाल छैटौँ स्थानमा रहेको छ । सी.पी.जे.ले हिजो न्यूयोर्कबाट सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल छैटौँ स्थानमा रहेको उल्लेख गरिएको छ । सन् २००२ को जनवरी १ तारिखदेखि २०११ को डिसेम्बरसम्ममा विश्वका विभिन्न देशमा पत्रकारहरु मारिए पनि सरकारले ज्यान मुद्धाको आरोप लगाएका एकजनालाई पनि कारबाही गर्न नसकेको आधारमा नेपाललाई छैटौँ स्थानमा राखेको हो ।
सशस्त्र द्वन्द्व र आन्दोलनका क्रमका बारेमा समाचार सङ्कलन गर्ने क्रममा मारिएका पत्रकारहरूको सूची यसमा समावेश छैन । कमजोर कानुनी प्रक्रिया र राजनीतिक संरक्षणको संस्कृतिले नेपालमा दण्डहीनताको अवस्था विद्यमान रहेकाले पाँचवटा मुद्दाको फैसला गर्न नसकेको उक्त प्रतिवेदनमा उल्लेख छ । अपहरणमा परेर हत्या गरिएका प्रकाशसिंह ठकुरीको हत्याराको बारेमा केही पत्ता नलागेको पनि बताइएको छ । ठकुरीबाहेक अरू चारजनाको नाम भने सूचीमा उल्लेख गरिएको छैन ।
सूचीमा इराक पहिलो, सोमालिया दोस्रो, फिलिपिन्स तेस्रो, श्रीलङ्का चौथो र कोलम्बिया पाँचौँ स्थानमा रहेका छन् । सी.पी.जेले दशलाख जनता बराबर एक जना पत्रकारको अनुपातमा सूचकाङ्क तयार पारेको हो । प्रतिवेदनमा अनुमानित तीन करोड जनसङ्ख्या नेपालको उल्लेख गर्दै पाँचवटा मुद्दा निष्कर्षहीन रहेको उल्लेख छ ।