मकवानपुर, नुवाकोट, बाग्लुङमा भएका सवारी दुर्घटनामा तीनको मृत्यु, सात जना गम्भीर

काठमाडौँ – मकवानपुरको बसामाडी र नुवाकोटको मदानपुर लाउकेबाराहीमा आज बिहान भएको दुई सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। यसैगरी बाग्लुङमा भएको जीप दुर्घटनामा १६ जना घाइते भएका छन्। जसमध्ये ७ जनाको स्थिति गम्भीर छ।

 

पासाङल्हामु मार्ग खण्डको मदानपुर गाविस वडा नं. ९ पोखरीमा बा १ ज ९७२३ नम्बरको माइक्रोबस सडकबाट ३० मिटर तल खसेको थियो। दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। त्यसैगरी थप १४ जना घाइते भएका छन्। घाइते मध्ये ६ जना महिला रहेका छन्।

त्यसैगरी हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख १२९७ नम्बरको यात्रुवाहक बस पूर्व-पश्चि राजमार्ग अन्तर्गत पर्ने बसामाढी-३ ताप्केमा आज बिहान दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको र ४३ जना यात्रु घाइते भएको राससले जनाएको छ।

मृत्यु हुनेमा रामेछाप जिल्ला बस्ने वर्ष १९ का विजय राउत भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ। दुर्घटनामा परी घाइते भएका आठजनालाई थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ अन्यलाई हेटौँडा अस्पताल र हाडजोर्नी आम्दा अस्पतालमा भर्ना गरिएको जनाइएको छ।


सो बसको स्प्रिङको पट्टा भाँचिन गई अनियन्त्रित भएर दुर्घटना भएको घाइते यात्रुले बताएका छन्।



जीप दुर्घटनामा १६ घाइते


यसैगरी बाग्लुङको बुर्तिवाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बुर्तिवाङबाट निसीका लागि छुटेको ज १ ज २०७८ नम्बरको जीप बुर्तिवाङको टारीखेतमा बुधबार बिहान दुर्घटनाग्रस्त भएको थियो। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए। घाइतहरुको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। जीप चालक चुराबहादुर नेपाली फरार रहेको प्रहरीले जनाएको छ।

 

– नागरिक