माओवादी पुष्पकमल दाहालद्धारा आफुहरुले पहिचानसहितको संघीयता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनको अडान नछाडने दावी

– मनोज बस्नेत

 

काभ्रे  – माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफुहरुले पहिचानसहितको संघीयता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनको अडान नछाडेको बताएका छन् । काभ्रेमा भइरहेको कार्यकर्ता प्रशिक्षणमा उनले बुधबार उक्त कुरा बताएका हुन् ।

‘हामीले नेपाली सेनामा जनसेना समायोजनको निर्णय गरेर दरवारीय तथा संविधान बनाउन नचाहने तत्वहरुलाई चक्मा दियौं’ दाहालले भने, ‘संविधान निर्माणमा पहिचानसहितको संघीयता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानलाई छाडिंदैन ।’

सेना समायोजनको निर्णयले संविधान नबनोस भन्ने चाहनेहरुलाई आप्ठ्यारोमा पारेको पनि उनले दावी गरे । ‘संविधान नबनोस् भन्नेहरुलाई अहिले आप्ठ्यारो परेको छ’ उनले भने, ‘अव संविधान नबनाई सुखै छैन ।’ तर, उनले तत्काल जनवादी संविधान बन्न नसक्ने चाही उल्लेख गरे । उनले संघीइतासहितको संविधान बन्ने बताए ।

साथै जनमुक्ति सेनाको समायोजन शाही नेपाली सेनासंग नभइ रुपान्तरित भएको नेपाली सेनासंग गरिएको पनि उनले दावी गरे । ‘सेना समायोजनपछि हामीसंग दुवै हातमा लड्डु छ’ उनले भने, ‘नयाँ संविधानमा हाम्रा एजेण्डाहरु राख्ने छौं, हामीले कहिल्यै हारेका छैनौं ।’

उनले माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षलाई बाम विसर्जनवादी र चरम अराजकतावादीको संज्ञा दिए । आप्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईको सरकार गिराउन काँग्रेससंग हरगुहार गरेको भन्दै उनले बैद्य पक्षको अलोचना गरेका हुन् ।