२८ जनाको समूहले संस्थापनविरुद्ध समानान्तर गतिविधि सञ्चालन गर्न थालेपछि काँग्रेस नेविसंघमा विवाद

काठमाडौं, वैशाख ७ – नेपाली काँग्रेसको नेविसंघ  केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएका २८ जनाको समूहले संस्थापनविरुद्ध समानान्तर गतिविधि सञ्चालन गर्न थालेपछि विवाद चुलिएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय उक्त समूहले बुधबार नेविसंघको स्थापना दिवस अवसरमा छुट्टै कार्यक्रम गरेपछि विवाद सतहमा आएको हो ।

संस्थापन पक्षले शान्तिबाटिकामा रक्तदान गर्‍यो भने देउवा पक्षले त्रिचन्द्र कलेजमा चियापान र राष्ट्रिय सभागृहमा विचार गोष्ठी गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि देउवाले सभापति सुशील कोइराला पार्टी सञ्चालनमा तानाशाह बनेको आरोप लगाए । बाहिर कुरा गर्दा मिलाएर लैजान्छु भन्ने र भित्र एकलौटी रूपमा सञ्चालन गर्न खोज्ने द्वैध चरित्रका कारण नै भ्रातृ संस्थामा विवाद उत्पन्न भएको देउवाको भनाइ थियो ।

प्रजातान्त्रिक परिपाटी मजबुद बनाउन नेविसंघमा असन्तुष्ट पक्षले राजीनामा दिनु सकारात्मक रहेको देउवाले बताए । नेविसंघ गठन सहमति विपरीत भएको भन्दै देउवा पक्षका २८ सदस्यले सामूहिक राजीनामा दिएका छन् । विवाद सम्बोधनप्रति नेतृत्वले बेवास्ता गरेपछि समानान्तर गतिविधि सञ्चालन गर्नुपरेको उनीहरूले बताए । देउवापक्षीय नेविसंघ समूहले गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डिना उपाध्याय, मीन विश्वकर्मा, सुरेन्द्र पाण्डे, शंकर भण्डारीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

यता, संस्थापन पक्षले आयोजना गरेको रक्तदानमा महामन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि थिए । उनले नेविसंघको अधिवेशन ६ महिनाभित्रै हुने बताए । नेविसंघ केन्द्रीय कार्यसमितिले देशभरि स्थापना दिवस अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णका अनुसार मंगलबार नेविसंघ स्थापना स्थल स्वयम्भूमा शान्ति र संविधान निर्माणका लागि दबाबमूलक सन्देश दिने चित्र बनाउने कार्यक्रम गरिएको थियो । – कान्तिपुर