एमाले झलनाथ खनालद्धारा समृद्ध नयाँ नेपाल निर्माणका लागि अति महत्वपूर्ण भएको भन्दै थपिएको पाँच दिनभित्रै इतिहास रच्ने विश्वास व्यक्त

काठमाडौं, वैशाख ७  –  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अबको पाँच दिन समृद्ध नयाँ नेपाल निर्माणका लागि अति महत्वपूर्ण भएको भन्दै थपिएको पाँच दिनभित्रै इतिहास रच्ने बताएका छन्। उनले नमिलेका विषयमा यही ११ गते बस्ने संविधान सभाको बैठकअघि नै सहमति जुट्ने दाबी पनि गरे।


शान्ति र संविधान निर्माणमा जनस्तरबाट सुझाव लिन थालिएको विशेष टेलिफोन सम्वादमा बिहान पाँचरथरबासीसँग कुरा गर्दै उनले संविधान सभाको कार्यव्यवस्था समितिले दिएको पछिल्लो पाँच दिनको समयभित्र विवादित विषयमा राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे। अध्यक्ष खनालले विवादित पाँच विषयमध्ये मिश्रित निर्वाचन प्रणालीमा दलहरुबीच अनौपचारिक सहमति भइसकेको बताउँदै अन्य विषयमा रहेका मतभेदमा यही ११ गते बस्ने संविधान सभाको बैठकअघि नै सहमति जुट्ने दाबी गरे।

आफ्नै निवास डल्लुबाट एमाले पाँचरथरका सचिव प्रेमप्रसाद रिजाल, कङ्ग्रेस जिल्ला सभापति नरेन्द्र केरुङ, नागरिक समाजका अगुवा प्रेम ओझा, महिला प्रतिनिधि अन्जु लामा, जनजातिका बिर्ख वाइवा र नेपाल जातीय मुक्ति समाजका भावानी शङ्करलाई फोन गरी सुझाव लिएका थिए। सुझाव दिने सबैले अन्तिम समयसम्म पनि दलहरुबीच सहमतिको वातावरण नबनेको बताउँदै नेपाली जनताको भावनाअनुसारको संविधान आउनेमा शङ्का व्यक्त गरेका छन्।

सुझाव दिने क्रममा एमाले पाँचथरका सचिव प्रेमप्रसाद रिजालले प्रदेश बाँडफाँटको आधार र त्यसको स्थायित्वका विषयमा पाँचथरबासी जनतामा अन्यौलता रहेको बताएका थिए। उनले पहिचान र सामर्थ्यका आधारमा निर्माण गरिने प्रदेशहरुको सङ्ख्या धेरै नबनाउन पनि सुझाव दिए। – नागरिक