कास्की, वैशाख ८ – पोखरामा एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई जनआन्दोलनका घाइते तथा उनका परिवारले शुक्रबार कालो झण्डा देखाएका छन् । अखिल नेपाल महिला संघको छैठौं राष्ट्रियसम्मेलनको उद्घाटन कार्यक्रममा भाग लिन पुगेका नेताद्वयलाई विमानस्थलमा कालो झण्डा देखाइएको हो ।
जेठ १४ अगाडि पोखरा आउने नेता तथा सभासदलाई कालो झण्डा देखाउने जनआन्दोलनका घाइतेहरुको पूर्व घोषित कार्यक्रम अनुसार त्यस्तो गरिएको हो । समयमा संविधान घोषणाको लागि दवाब दिन उनीहरुले त्यस्तो कार्यक्रम ल्याएको हो ।
पोखरामा ११ गते सम्म संचालन हुने सम्मेलनमा अध्यक्ष खनाल लगायतका वरिष्ठ नेता नेपाल लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ । पोखराको अमरसिंह चौरमा हुने सभा अघि सृजनाचोकबाट र्याली निस्केको छ ।
महिला मैत्री सहभागितामुलक लोकतन्त्रको संस्थागत विकास गरौ, अराजकता र विखण्डनका विरुद्ध राष्ट्रिय एकता सुदृढ पारौ भन्ने नाराका साथ हुन गइरहेको सम्मेलनमा देश भरका ८ सय प्रतिनिधी सहभागी रहने सम्मेलन संयोजक तथा संघकी अध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिईन । – कान्तिपुर



