महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन

काठमाडौ, वैशाख ८ – नेपाली सेनाले नेपालगन्जमा महासेनानी राजु नेपाली र स्थानीयबीच झडप भएको घटनाबारे छानबिन गर्न ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको छ । घट्नाको सत्यतथ्य पत्ता लगाउन सहायक रथी राज राणाको अध्यक्षतामा तीन सदस्यीय कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार एक विज्ञप्ती मार्फत उक्त समिति गठन गरिएको जनाएको छ । बैशाख ७ गतेबाटै विस्तृत छानविन प्रक्रिया सुरु भइसकेको विज्ञप्तीमा जनाइएको छ ।

बैशाख ३ गते राति महासेनानी नेपाली र हंगेरी होटलका मालिक, मजदुर तथा केही स्थानीय युवाबीच मारपिट भएको थियो । महासेनानीले आफूले संरक्षण दिएकी एक युवतीलाई भेट्न गएको बेला कोठभित्र पस्नेबित्तिकै बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद बढेर कुटपिट भएको बताएका छन् । उनले आफूमाथि सांघातिक आक्रमण भएको दावी गरेका छन् । उता, होटल सञ्चालकले भने आफूहरुलाई महासेनानी र उनका सहयोगीले कुटेको बताएका छन् । – कान्तिपुर