कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी

काठमाडौ, वैशाख ९ – कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने बताएका छन् । त्यस्तै, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी दिएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार बसेको मधेस केन्दि्रत करिब दुई दर्जन सभासदहरूको भेलाले संघीयतालाई लिएर मधेसमा कांग्रेसभित्र विभिन्न ‘भ्रम’ फिँजाएको भन्दै त्यसलाई प्रस्ट्याउन पार्टी नेतृत्वसमक्ष समेत आग्रह गरेका छन् । ‘हामी संघीयताबिनाको संविधान पनि मान्दैनांै र उत्तर-दक्षिणको आधारलाई पनि स्वीकार गर्दैनौं,’ सभासद महेन्द्र यादवले भने, ‘पार्टी नेतृत्व पनि यो पक्षमा छैन । तर हाम्राविरुद्ध मधेसमा प्रचारबाजी गरिएकाले त्यसलाई स्पष्ट पार्न भेला डाकिएको हो ।’

भेलामा बोल्ने अधिकांशले राज्यको नामकरण पहिचान र सामथ्र्यको आधारमा बनाउनुपर्ने बताएका थिए । उनीहरूले तराईमा दुईदेखि तीन र पहाडमा चारसम्म प्रदेश बनाउनुपर्नेमा सुझाव दिएका थिए । केही दिनअघि एमाले नेता माधवकुमार नेपालले कांग्रेसले उत्तर र दक्षिण मिलाएर संघीयता बनाउनुपर्छ भन्ने प्रस्ताव राखेकोप्रति बोल्ने सदस्यहरूले आपत्ति प्रकट गरेका थिए । ‘पार्टी नेतृत्वले यस्तो कुरा ल्याएको छैन । त्यस्तो भए पनि हामी मान्दैनौं,’ यादवले भने । भेलामा दीपकुमार उपाध्याय, शेखर कोइराला, बालकृष्ण खाँड, रमेश रिजाल, अजय चौरासिया, अजय द्विवेदी, किरण यादव, उषा गुरुङ, रामवती चौधरी, भोटनदेवी खवास, सरस्वती चौधरी, शोभाकर पराजुलीलगायतले धारणा राखेका थिए । भेला ११ गते पनि गर्ने यादवले बताए । – कान्तिपुर