दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति

रोशन साँवा

 

दार्जिलिङ, वैशाख ९- दार्जिलिङको मुख्य चोकबजार नजिकै शुक्रबार राति आगलागी हुँदा २१ घरका करिब डेढ सय पसल जलेका छन्। एचडी लामा रोड (पुरानो नाम एमपी)मा राति दुई बजेतिर आगलागी सुरु भएको थियो। स्थानीयले थाहा पाउँदा दुई-तीन वटा पसल जलिसकेकाले आगो सुरु भएको पसल र कारण पत्ता लाग्न सकेको छैन। रेष्टुराँमा रहेको एलपी ग्याँस पड्किएपछि आगो चाँडै फैलिएको स्थानीयले जनाएका छन्।

आगो सुरु भएको ठाउँनेर पसल सञ्चालकहरु बास बस्दैनथे। उनीहरु घर-घर गएका हुनाले र आसपासले पनि आगो लागेको थाहा पाएकाले मानवीय क्षति भने भएन तर सामानहरु केही नजोगिएको पीडितहरुले बताएका छन्। ‘मैले त तीन बजेमात्र आगो लागेको सुनेँ। हतार-हतार पसल पुग्दा खरानी भइसकेको थियो,’ कपडा पसल सञ्चालक राम थापाले भने। आगलागीबाट कपडा, सुनचाँदी, इलेक्ट्रोनिक्स सामानलगायतका पसलहरु, होटलका सामानहरु जलेका छन्। त्यहाँ आपसमा जोडिएका काठको संरचना भएका पसलहरु थिए।

बजार क्षेत्रमा पानीको अभाव हुनाले आगलागी नियन्त्रण गर्न धेरै समय लागेको थियो। आगो नियन्त्रण गर्न कालिम्पोङ र खर्साङबाट दमकल झिकाइएको थियो। स्थानीय, प्रहरी तथा सेनाको संयुक्त पहलमा आगो विहान नौ बजेतिरमात्र पूर्ण नियन्त्रणमा आएको थियो। त्यही क्षेत्रमा १७ नोभेम्बर १९७१ मा पनि आगलागी भएको थियो।


आगलागीबाट भएको क्षतिको यकिन विवरण प्रहरीले तयार गरिसकेको छैन। उसले विवरण तयार हुन केही दिन लाग्ने जनाएको छ। उसले आगलागीबाट २१ घरमा रहेका डेढ सय पसल जलेको जनाएको छ। गोर्खा जनमुक्ति मोर्चाले आगलागीबाट करिव पाँच करोड रुपैयाँ बरारबरको भौतिक क्षति भएको अनुमान गरेको छ।


प्रहरी र स्वयंसेवकहरुलाई शुक्रबार दिउँसोदेखि नै आगलागीग्रस्त क्षेत्रको सरसफाइ सुरु गरेको थियो। पीडित परिवारहरुलाई अलइण्डिया नारी केन्द्रलगायतको भवनहरुमा बस्ने व्यवस्था मिलाइएको स्थानीय विमल राईले जानकारी दिए।


आगलागीग्रस्त क्षेत्रको निरीक्षण गर्न नगर विकास मन्त्री गौतम देव शुक्रबार साँझ दार्जिलिङ आइपुगेका छन्। राज्यसभाका विधायक जशवन्त सिंहले राहतका लागि ५० हजार रुपैयाँ कोषमा जम्मा गरेको घोषणा गरेका छन्।