काठमाडौं, वैशाख ९ – विभिन्न जातीय सङ्घ सङ्गठनले राज्य पुनर्संरचना गर्ने क्रममा जातीय राज्य बनाउन माग गरिरहेका समयमा क्षेत्री समाज नेपालले भने सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव दिएको छ।
समाजले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर जातीय राज्यले मुलुकलाई बेफाइदा हुने भन्दै पहिचान, सामर्थ्यलगायतका आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने माग गरेको छ। उसले जातीय राज्य बनाउने हो भने नेपालमा रहेका एक सय एक जातिलाई अलग/अलग राज्य दिनुपर्ने माग गरेको छ।
जातीय राज्यको विपक्षमा रहेको जनाएको समाजले पीडित समुदायलाई सहयोग गर्नु राज्यको दायित्व हो भन्दै कसैलाई समस्या छ भने देश र अन्य समुदायलाई असर पर्ने गरेर निर्णय गर्न नहुने माग पनि गरेको छ।
उसले जातीय राज्य बनाउने हो भने आफूहरुलाई पनि जातीय राज्य चाहिने मागसमेत गरेको छ। यद्यपि समाजले जातीय राज्य नबनाउन जोड दिएको छ।
मुलुकमा नेवार, गुरुङ, मगर, तामाङ, राई र लिम्बूलाई राज्य दिइन्छ भने क्षेत्री वा गन्धर्वलगायतका जातजातिलाई पनि त्यो अधिकार हुनुपर्ने भन्दै समाजले राज्य र विभिन्न राजनीतिक दलसँग त्यसो किन नगर्ने भन्ने प्रश्नसमेत गरेको छ।
समाजका अध्यक्ष प्रा.डा. दीलबहादुर क्षत्रीले अल्पसङख्यक गन्धर्व, मुस्लिमलगायत सानो समूहलाई विभिन्न जातीय सङ्गठनहरुले ओझेलमा पारेको आरोप पनि लगाए। उनले अब सबै समुदायको अधिकारका लागि क्षेत्री समाजले पहल गर्ने बताएका थिए। – नागरिक



