
आगो इलाका वन कार्यालयतर्फबाट लागेको हो । आगो कसले लगायो भन्ने थाहा हुन नसकेको जिल्ला वनले जनाएको छ । सल्लाको जंगलमा आगो निभाउन प्रयास गरिएपनि हावाहुरीले आगोको फिलिङ्गो उडाउँदा साँझसम्म नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि नेपाली सेनाको चण्डीप्रसाद गणका गणपति मोहन क्षेत्री समेतको टोली, साथै प्रहरी खटिएको छ । आगो लागेको थाहा पाउनासाथ निभाउन प्रयास गरिंदा पनि नसकिएको तानसेन बतासेवासीले बताएका छन् । जंगलमा शनिबार बिहान नियन्त्रित आगो प्रहरी, सेना, कर्मचारी मिलेर लगाएको वनका रेञ्जर अर्जुन चापागाईले बताए । तर, दिउँसो ठूलो मुस्लो सहित इलाका वन कार्यालय तर्फबाट वनदेवी हुँदै तानसेनको बतासे, कैलाशनगरतर्फ फैलिएको थियो ।
सल्लाको पातले जंगल भएको स्थानमा घास पलाउने र किरा फट्यांग्र मर्ने भएकोले खासै असर नपरेपनि घना जंगलमा लागेको आगोले समस्या ल्याउने स्थानीयले बताए । गणपति क्षेत्रीले बस्तीमा जानबाट जोगाउन अग्नि रेखा कोरिएको बताए । आगो लागेका कारण तानसने-तम्घास सडकमा दिउँसो केही समय सवारी साधन समेत रोकिनु परेको थियो ।
उता, पाल्पा र नवलपरासी, रुपन्देहीको सिमाना चुरे पहाड जंगलमा पनि आगो लागेको छ । ज्यामिरेको वेभोके, रोल्लाबास, अरुणखोला, रहवास, गोठादी, दोभान, कचल, बल्ढेङ्गगढी, सत्यवतीको जंगलमा दुईसातादेखि घना जंगलमा आगो लागेको छ । डढेलोबाट अमला, हर्रो, बर्रो, दालचिनी, गानेगुर्जो, पिपला, सिसनी लगायतका बहुमुल्य जडीवुटी समेत नष्ट भएको छ ।



