नब्बे वर्ष अघिबाट पशुपन्छी काटमार बन्द गरिएको गोरखाको चुमचेत र छेकम्पारमा हिंसामुक्त घोषणा

-कृष्ण आचार्य

 

छेकम्पार, गोरखा  – नब्बे वर्ष अघिबाट पशुपन्छी काटमार बन्द गरिएको चुमचेत र छेकम्पार गाविस अघिल्लो साताबाट औपचारिक रूपमा हिंसामुक्त घोषणा भएका छन् । जिल्लाकै दुर्गमका यी गाविसले वैशाख १३ बाट तीन दिन महोत्सव गरी काटमार निषेध गर्दै अहिंसा क्षेत्र घोषणा गरिएको हो । दुवै गाविसको परिषद्ले समेत नियम कानुन पारित गरेर अहिंसा क्षेत्र घोषणा गरिएको चुम उपत्यका सांस्कृतिक ‘स्याक्या’ महोत्सव आयोजक समितिले जनाएको छ । समिति अध्यक्ष निमा लामाका अनुसार चुमचेतलाई पाँच र छेकम्परालाई छ वटा नियम बनाई अहिंसा क्षेत्र घोषणा गरिएको छ । चुमचेतका लागि जीवजनावर काटमार गर्न/गराउन नपाइने, सिकार खेल्न नपाइने, माहुरीको मह काढ्न नपाइने, डढेलो लगाउन नपाइने, मासुजन्य पशुपन्छी ओसारपसार गर्न नपाइने नियम बनाएको छ ।

छेकम्पार गाविसका लागि भने थप एक नियम पशुबध पूर्ण रूपमा निषेध गर्ने रहेको अध्यक्ष लामाले बताए । ‘नियमभन्दा बाहिर गएर काम गरे गुम्बामा हजार बत्ती बाली एक हजारपटक सिट ढोग्नुपर्ने प्रावधान बनाएका छौं,’ चुम कल्याण समिति अध्यक्षसमेत रहेका लामाले भने । घरपालुवाभन्दा बाहेकका जंगली जीवजन्तु तथा जनावर मारेमा प्रहरीलाई नियमअनुसार कारबाही गर्न सम्बन्धित व्यक्ति बुझाउने नियम दुई गाविसवासीले बनाएका छन् । नियम उल्लंघन गरेर बत्ती बाल्दा करिब २० हजार बराबरको खर्च गर्नुपर्ने हुन्छ । सम्भवतः हामीले बनाएका कुनै पनि नियम स्थानीय बासिन्दामाथि कडाइसाथ लागू गर्नुपर्ने स्थिति आउँदैन,’ निमाले भने, ‘बाह्रै महिना हिंसामुक्त क्षेत्र यी गाउँ सायद विश्वमै पहिलो हुन् ।’

उनका अनुसार बौद्ध धर्म मान्ने अन्य ठाउँका बासिन्दाले सीमित अवधिका लागि मात्र अहिंसा क्षेत्र घोषण गर्ने गरेका छन् । ९० वर्षअघिबाट छेकम्पार गाविसले पशुपन्छी काटमार गर्न रोक लगाएको थियो । मासुजन्य पशुपन्छीसमेत उक्त गाविसका बासिन्दाले पाल्ने गरेका छैनन् । उक्त विषयमा विभिन्न धार्मिक कार्यक्रममा कुरा उठ्न थालेपछि चुमचेत गाविसका वृद्धवृद्धा, युवायुवतीसँग अन्तरक्रिया गरी दुवै गाविसलाई अहिंसा क्षेत्र घोषणा गरिएको आयोजकले जनाए ।

नियम बनाउने र कार्यान्वयन गराउन स्थानीय बासिन्दा, स्थानीय गुम्बा र गाविस समिति सक्रिय भएका हुन् । सदरमुकामबाट ५१ कोस टाढा रहेको दुवै गाविसका अधिकांशले बौद्ध धर्म मान्छन् । चुमचेत गाविसमा २ सय ७० र छेकम्पारमा ३ सय ५० मध्ये अधिकांश लामा जातिका छन् । अहिंसा क्षेत्र घोषणा गर्न दुई गाविसवासीले तीन दिने महोत्सव गरेका थिए । १३ गतेबाट सुरु महोत्सव उद्घाटन प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका हुन् । हिंसामुक्त गाविस घोषणा भने स्थानीय राजन गुम्बाका लामा डुक्पा रिन्पुछे लामाले गरेका थिए । उनले अहिंसासम्बन्धी प्रवचन गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।