काठमाडौं – एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सचिव सीपी गजुरेलले दलबीच कुनै पनि हालतमा सहमति हुन नसक्ने बताएका छन्। सत्ताधारी दल र विपक्षी दलबीच मोर्चाबन्दी भइसकेको अवस्थामा एकता हुनै नसक्ने उनले बताए। अहिलेको राजनीतिक अन्योलता सिर्जना गर्ने पात्र भनेका प्रचण्ड र बाबुराम हुन्- उनको भनाई थियो।
नागरिक मिडिया क्लब नेपालले मङ्गलबार आयोजना गरेको ‘वर्तमान अवस्थामा राजनीतिक जटिलता र यसको समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा गजुरेलले सो कुरा बताएका हुन्।
संविधान सभाको पुनः निर्वाचनको कुनै औचित्य नरहेको स्पष्ट पार्दै उनले भने- अबको राजनीतिक निकास भनेको सरोकारवालाबीच गोलमेच सम्मेलनमात्र हो। गोलमेच सम्मेलनपश्चात संविधानको मस्यौदा तयार पारेर क्रमश: संविधान बनाउने विकल्पमा जान सक्ने उनको भनाई थियो। राष्ट्रिय निकासका लागि डा. बाबुराम भट्टराईले तत्काल राजीनामा दिनुपर्ने गजुरेलको कथन थियो। – नागरिक