
सिरियाको हिंसामा सरकारी सेनाले अत्यधिक हतियार प्रयोग गरी मानवअधिकारको चरम उल्लंघन गरेको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । विश्व मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सिरिया मामिलामा गम्भीर हुन विश्व समुदायलाई ध्यानाकर्षण पनि गरेको छ । सिरियाको एलोप्पो शहरमा जारी हिंसाका सेटेलाईट दृष्य सार्वजनिक भएपछि एम्नेष्टीले त्यहाँ प्रयोग गरिएका घातक हतियारका कारण नागरिकको जनजीवन दूरुह बनेको जनाएको छ । सेटेलाईट मार्फत कब्जा गरिएको दृष्यमा एलोप्पो शहरमा सरकारी सेना र बिद्रोहीबीचको भीडन्तका क्रममा सरकारी सेनाले अत्यधिक हातहतियार प्रयोग गरी दमन गरेको देखिएको छ ।
सिरियाको अनादान शहरमा आवासक्षेत्रमा समेत सेना प्रवेश गरी सर्वसाधारणलाई आक्रमण गरेको एम्नेष्टीले जनाएको छ । सिरियाको एलोप्पो शहरमा दुई समूहबीचको भीडन्त कायमै छ ।
सिरियाका राष्ट्रपतिको रवैयाप्रति बिश्वका थुप्रैं राष्ट्र असन्तुष्ट रहेका बेला ईरान भने सिरियालाई साथ दिन तयार भएको छ । सिरियाको भ्रमणमा रहेका ईरानी सुरक्षा प्रमुख सईद जलीलीले सिरिया क्षेत्रीय गठबन्धनको मुख्य हिस्सा भएको भन्दै उनलाई साथ दिने बचन दिएका हुन् । सिरियाको दमास्कसमा राष्ट्रपति बसर अल असदलाई भेटी सईद जलीलीले सिरियामा आतंकबाद मौलाएकाले यसलाई दबाउन जरुरी रहेको प्रतिक्रिया दिए । सिरियाका प्रधानमन्त्री रियाद हिजाबले राष्ट्रपतिको साथ छाडेलगत्तै ईरानी सुरक्षा प्रमुख सिरिया पुगेका हुन् । यता राष्ट्रपति असदले भने आतंकबाद मौलाएका कारण यसलाई दबाउन आफू लागिपरेको धारणा ब्यक्त गरे । सिरियाली जनताले आफूसमक्ष घुँडा टेक्नेमा बिश्वस्त रहेको बताउँदै असदले यसमा बिदेशी हस्तक्षेप अनावश्यक भएको बताए ।
– एजेन्सी