
काठमाडौं । मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानवअधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संगठनले विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । एम्नेष्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले विश्वबाट मृत्युदण्ड उन्मूलनको आह्वान गर्दै कार्यक्रम गर्दै छन् ।
मृत्युदण्डविरुद्ध विश्वव्यापी गठबन्धनको आह्वानमा सन् २००३ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । यस वर्षको दिवसमा पछिल्लो १० वर्षमा भएको प्रगति र आउँदा दिनको चुनौतीमा छलफल गरिनेछन् । पछिल्लो दशकमा संवैधानिक र कानूनी रुपमा मृत्युदण्डको सजायँ हटाउने राष्ट्रहरुको संख्या बढ्दै गएको छ ।
विश्वभरका १ सय ५५ देशले कानून या व्यवहारमा मृत्युदण्डको उन्मूलन गरेको तथ्यांक छ । अझै पनि कुनै न कुनै स्वरुपमा मृत्युदण्डको प्रावधान कायम राख्ने देशहरु पनि त्यत्तिकै छन् । खासगरी विश्वमा शक्ति राष्ट्र भनेर चिनिएका देशहरुले अझै पनि मृत्युदण्डको प्रावधानलाई खारेज गरेका छैनन् ।
विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिने पाँच राष्ट्रको सूचीमा चीन, इरान, साउदी अरेबिया, इराक र अमेरिका पर्दछन् । नेपालमा २०४७ सालको संविधानमार्फत् मृत्युदण्डको प्रावधान उन्मूलन गरिएको हो ।
– RSS