नेकपा-माओवादीद्धारा नयाँ युवा संगठनको गठन, नेतृत्वमा अधिकांश पूर्वलडाकु चयन

नेपालका संचारमाध्यमहरुले लेखे अनुसार काठमाडौं, आश्विन २६ – नेकपा- माओवादीको भ्रातृ संगठन राष्ट्रिय जनस्वयंसेवकको प्रथम अधिवेशन सर्वसम्मत रूपमा ९५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै पूरा भएको छ । पार्टी सचिवसमेत रहेका नेत्रविक्रम चन्द पुनः जनस्वयंसेवकको इञ्चार्ज चुनिएका छन् भने अध्यक्षमा लडाकुका पूर्वडिभिजन भाइस कमान्डर उदयबहादुर चलाउने आएका छन् । सम्मेलनले संगठनको नामको बीचमा युवा राखी ‘राष्ट्रिय युवा जनस्वयंसेवक’ नामकरणसमेत गरेको छ ।


समाचार अनुसार  अध्यक्ष चलाउने चितवनको शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनका भाइस कमान्डर थिए । संगठनको केन्द्रीय नेतृत्वमा अधिकांश पूर्वलडाकु चयन भएका छन् । उपाध्यक्षमा युवराज आचार्य र सावित्री दुरा ल्याइएका छन् । आचार्य पहिले वाईसीएलमा थिए भने दुरा पूर्वसभासद हुन् । 


महासचिवमा चयन भएका नेपबहादुर चौधरी कैलालीको तालबन्दस्थित तत्कालीन सातौं डिभिजनका भाइस कमान्डर हुन् । सचिवमा प्रकाश खनाल र विष्णु महर्जन चयन भएका छन् । खनाल पूर्वलडाकु हुन् भने महर्जन वाईसीएलमा थिए । त्यसैगरी पूर्वलडाकु नवीन लिम्बु कोषाध्यक्षमा चयन भएका छन् ।


‘पछि समावेशी, समानुपातिक हिसाबले सदस्य थप्ने गरी हाललाई ९५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ,’ अध्यक्ष चलाउनेले भने, ‘सम्पूर्ण युवालाई गोलबद्ध गरी राष्ट्रियता र जनजीविकाका मुद्दामा केन्दि्रत हुनेछौं ।’ केन्द्रीय समितिको सचिवालय पनि पछि बनाइने उनले जनाए ।


सम्मेलनमा सहभागी अधिकांश पूर्वलडाकुले बन्दसत्रका क्रममा सैन्य संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । ‘जनमुक्ति सेनाको पृष्ठभूमि भएका साथीहरूले जनस्वयंसेवकभित्रै पनि जिम्मेवारी र सांगठनिक हिसाबले आफूहरूलाई व्यवस्थित गर्नुपर्ने कुरा उठाउनुभएको हो,’ चलाउनेले भने ।


सम्मेलनमा महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दले प्रशिक्षण दिए । चलाउनेले संगठनले अधुरो क्रान्ति पूरा गर्न भूमिका खेल्ने बताए । ‘परिस्थिति आए संगठन जुनसुकै भूमिका निर्वाह तयार छ,’ उनले भने । सम्मेलनको दुई दिनअघि पार्टी अध्यक्ष मोहन वैद्यले उद्घाटन गरेका थिए ।

अन्य समाचारहरु