– सुदर्शन सापकोटा, नागरिक
काठमाडौं – मैतिदेवीका हरिशरण केसी तीनवटा बैंकमा नयाँ नोट साट्न गए, तर कतै पाएनन्। बरु उल्टो बैंकका कर्मचारीबाट सुझाव पाए- ‘राष्ट्र बैंक गए पाउनुहोला।’
बैंक तथा वित्तीय संस्थाले कर्मचारीका आफन्त र मुख्य ग्राहकलाई राष्ट्र बैंकले छुट्याएको नोट वितरण गरिसकेकाले सर्वसाधारणले नपाएका हुन्। राष्ट्र बैंकले पनि सर्वसाधारणको मागअनुसार बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको छैन।
‘राष्ट्र बैंकले हामीलाई मागेजति नयाँ नोट नदिएकाले सर्वसाधारणलाई रित्तो पठाउनुपरेको हो,’ एक बैंकरले बुधबार नागरिकसँग भने। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उनीहरूको आकारअनुसार पाँच लाखदेखि १० करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आकार हेरेर एकचोटि मात्र नयाँ नोट उपलब्ध गराएको छ। ग्राहकको मागअनुसार जति पनि नोट उपलब्ध हुने बताइरहेको राष्ट्र बैंकले थप नोट बैंक तथा वित्तीय संस्थालाई दिएन। यसले गर्दा नयाँ नोट साट्न बैंक छिरेका सर्वसाधारण निराश भएर बाहिर निस्कनुपरेको छ।
वाणिज्य बैंकहरूले १० करोडका दरले नयाँ नोट पाए भने बाँकी संस्थाले योभन्दा कम। उनीहरूले पाएको नोट सर्वसाधारणसम्म नपुग्दै आफन्त र ग्राहकलाई साटेर सकिएको हो।
‘अधिकांश बैंक तथा वित्तीय संस्थाले आफ्ना नातागोता र मुख्य ग्राहकलाई मात्र हामीले उपलब्ध गराएको नोट वितरण गरे,’ राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले भने, ‘सर्वसाधारणले बैंकबाट नोट नपाउने देखिएकाले बैंकहरूलाई थप उपलब्ध नगराएको हो।’
उनले राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र राजधानीको थापाथली बैंकिङ कार्यालयबाट ग्राहकलाई मागेजति नयाँ नोट वितरण गरिरहेको जानकारी दिए। राष्ट्र बैंकले थापाथलीमा ५ वटा काउन्टरबाट नोट वितरण गरिरहेको छ।
सर्वसाधारणलाई सर्वसुलभ तरिकाबाट नोट उपलब्ध गराइने बताए पनि राष्ट्र बैंक आफैंले सार्वजनिक रूपमा गरेका प्रतिबद्धता पूरा नगर्दा ग्राहकले नयाँ नोट पाएका छैनन्। ‘राष्ट्र बैंकले नयाँ नोट दिएको भए हामीलाई साट्न के समस्या हुन्थ्यो र?’ एक बैंकरले भने, ‘राष्ट्र आफैंले जानीजानी नयाँ नोटको अभाव सिर्जना गराइरहेको छ।’
ग्राहकबाट ५, १०, २० र ५० का नोटको माग बढी छ। यसमध्ये पनि २० र ५० का नोटको माग बढी छ। ‘सजिलै नोट पाइन्छ भन्ने सुनेको त हो,’ मैतिदेवीका केसीले भने, ‘मै तीन ठाउँ पुगिसकेँ, पाएको होइन।’
राष्ट्र बैंकले दसैंका लागि २५ अर्ब रुपैयाँ नयाँ नोट बजारमा लैजान छुट्याएको जनाएको थियो। नयाँ नोट वितरण गर्नुअघि बजारमा १ सय ८८ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए। वितरणपछि चलनचल्तीमा २ सय अर्ब रुपैयाँ बराबरका नोट पुगेको राष्ट्र बैंक अधिकारी बताउँछन्। राष्ट्र बैंकले योबाहेक १ सय अर्ब बराबरका नोट मौज्दातमा रहेको जनाएको छ।
राष्ट्र बैंकले शुक्रबारसम्म नयाँ नोट वितरण गर्ने जनाएको छ। राष्ट्र बैंकले काठमाडौं बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, वीरगन्ज पोखरा,भैरहवा, धनगढी, नेपालगन्जबाट नोट सटही गरिरहेको छ।
तीन वर्षअघि राष्ट्र बैंकले कम नोट निष्कासन गरेका कारण सर्वसाधारणले अभाव झेल्नुपरेको थियो। यसपालि भने बैंकहरूले ग्राहक र सर्वसाधारणमा फरक व्यवहार गरेको र राष्ट्र बैंकले आफूले प्रतिबद्धता गरेजस्तो आवश्यकता अनुसार थप नोट बैंकलाई नदिएकाले सर्वसाधारणले दुःख पाउनुपरेको हो।