नेपालीहरुको महान् चाड बडा दशैंका लागि राजधानीमा हजारौं खसीबोका आयात

काठमाडौं । नेपालीहरुको महान् चाड बडा दशैंका लागि उपत्यकाका ग्राहकलाई मासुको सहजता प्रदान गर्न खाद्य संस्थान, चौपाया खरिद विक्रि सेवा संघ लगायत कृषक व्यवसायीहरुले राजधानीमा खसी बोका भित्र्याउँदै आएका छन् । सरकारी निकाय खाद्य संस्थानले यस वर्ष ३ हजार खसिबोका काठमाडौ ल्याएको हो ।

त्यस्तै चौपया खरिद विक्रि सेवा संघले पनि दशैका लागि ५० हजार बराबरको खसिबोका राजधानी ल्याएको जनाएको छ । संघले स्वदेशी तथा छिमेकी राष्ट्र भारतबाट खसिबोका ल्याउँदै आएको हो ।

बजारमा मासुको मूल्यमा मनपरी हुन नदिन सरकारी निकाय संस्थाले खसिबोका ल्याउदै आएको हो । संस्थानले २५ किलो भन्दा कम तौल भएका खसी बोकाको प्रति किलो ३ सय ४ रुपैयाँ र त्यसभन्दा माथिका खसिबोकाको प्रति किलो ३ सय १४ रुपैयाँ मूल्य तोकेको छ । यस्तै बजारमा स्वदेशी खसिबोकाको मुल्य प्रतिकिलो ३ सय २० रुपैयाँ र भारतबाट ल्याइएका खसिबोकाको मुल्य ३ सय ४५ रुपैयाँमा विक्री गर्दै आएको छ ।

यो वर्ष संस्थानले सवा २ करोड रुपैयाँ बराबरको खसिबोकाको कारोबार गरेको जनाएको छ । उपत्यकामा दैनिक २५ सय देखि ३ हजार सम्म खसिबोकाको मासु खपत हुने गरेको संघको भनाई छ । दशैमा उपभोक्तालाई पुग्ने गरी पर्याप्त मात्रामा खसिबोका ल्याइने पनि व्यवसायीहरुले बताएका छन् । 

-RSS