दशैको विदामा पनि बैंकिङ सुविधा

काठमाडौ  – प्रतिस्पर्धा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले दशैको विदामा पनि बैंकिङ सुविधा दिन थालेका छन् । सामान्यता दसैंमा सरकारले छुट्याएको सार्वजनिक बिदाको समयमा बन्द रहने बैंकिङ सेवा पछिल्ला वर्षमा भने केही घण्टाका लागि खुला हुने भएको छ ।


दसैं अवधिभर राष्ट्र बैंक बन्द हुने भए पनि वाणिज्य बैंकले भने सेवा खुला राख्न थालेका छन् । स्ट्यान्डर्ड चार्टड बैंक, इन्भेस्टमेन्ट बैंक, एनआईसी, हिमालयन लगायतका बैंकले सार्वजनिक सूचना जारी गरेर बैंक खुला रहने दिन र अवधिबारे जानकारी दिएका छन् ।


‘दसैंको अवधिमा नियमित बैंक खोलिरहेका छौ’ स्ट्यान्डर्ड चार्टड बैंक नेपालका कर्पोरेट अफेयर्स प्रमुख दिवाकर पौडेलले भने, ‘एटीएम मात्र नभएर अन्य सुविधा दिन पनि कार्यालय खोलेका हांै ।’


ग्राहकलाई विदेशी मुद्रा र रकमको आवश्यकता पर्ने भएकाले शाखा खोलिएको उनी बताउँछन् । ‘थोरै समय भए पनि ग्राहकलाई सुविधा र राहत दिन शाखा खोल्ने क्रम पछिल्ला वर्षमा बढेको छ’ उनले भने ।


इन्भेस्टमेन्ट बैंकले ५ देखि १० गतेसम्म दरबारमार्गमा रहेको शाखा बिहान ९ देखि १२ बजेसम्म खुला राख्ने जनाएको छ । यसका साथै अन्य शाखाबाट पनि दसैंको अवधिमा सुविधा दिने उल्लेख छ । एनआईसी बैंकले दशमीअघि र पछिका दिनमा कमलादीको शाखाबाट सेवा दिने जनाएको छ । राष्ट्र बैंक बन्द हुने भएकाले दसैंको अवधिमा झिकिने रकममा भने बैंक आआफ्नै सीमितता राखेका छन् ।


सामान्य अवस्थामा जस्तो धेरै कर्मचारी आवश्यक नपर्ने भएकाले पनि दसैंको समयमा शाखा खोल्ने क्रम बढेको छ । ‘दसैंको अवधिमा एक शाखामा दुई वा तीन कर्मचारी भए पुग्छ’ एक अर्का बैंकरले भने, ‘आपत् पर्ने


ग्राहक मात्र आउने भएकाले समस्या छैन ।’


यस पटकको दसैंमा राष्ट्र बैंक १० दिनका लागि बन्द भएको छ । उक्त अवधिमा पनि आवश्यक पर्ने रकम जोहो गरेर वाणिज्य बैंकले शाखा खोलेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउँछन् । ‘अधिकांशले दसैं सुरु हुनुअघि नै रकम झिकिसकेका हुन्छन्’ उनले भने, ‘आवश्यक परेकालाई दिने गरी बैंकले त्यसपछि पनि शाखा खोलेका छन् ।’ बैंकिङ क्षेत्रमा आवश्यक तरलता रहेको र कारोबारमा कुनै समस्या नहुने उनले बताए ।


पछिल्लो समय नयाँ नोटका साथै भारतीय रुपैयाँ साट्न पनि केन्द्रीय बैंकमा लाम लागेको थियो । नेपालमा काम गर्ने भारतीय नागरिकले दसैंको अवधिमा भारु नोट साट्ने गर्छन् । ‘अन्तिम समयमा धेरै आएकाले लाइन देखिएको हो’ ज्ञवालीले भने, ‘यो वाषिर्क प्रक्रिया हो ।’ राष्ट्र बैंक शुक्रबार बन्द भएकाले दसैंको समयमा भने भारतीय रुपैयाँ साट्न समस्या हुन सक्ने देखिएको छ । बैंक तथा वित्तीय संस्था बाहेकबाट तोकिएको विनिमय दरभन्दा बढी असुलेर रकम साट्ने प्रवृत्ति पनि देखिने गरेको छ । यस्तो समस्या विशेष गरी सीमावर्ती क्षेत्रमा हुने गरेको छ ।


३२ अर्बका नयाँ नोट बजारमा


दसैंका लागि बजारमा ३२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट थपिएको छ । यो सँगै सर्वसाधारणको हातमा २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।


ज्ञवालीका अनुसार ५ देखि १ हजार दरसम्मका ३२ अर्ब रुपैयाँको नयाँ नोट बजारमा थपिएको हो ।


अघिल्लो वर्ष २५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा थपिएका थिए । अधिकांश बैंक तथा वित्तीय संस्थाबाट सहजै नोट नपाएपछि सर्वसाधारणले राष्ट्र बैंकमा लाइन बसेर नयाँ नोट साटेका थिए ।


राष्ट्र बैंकले कारोबारको आकार अनुसार विभिन्न संस्थालाई नयाँ नोट उपलब्ध गराएको थियो । करिब १ खर्ब रुपैयाँ बराबरको नयाँ नोट छापेर राखेको राष्ट्र बैंकले सर्वसाधारणको मागअनुसार उपलब्ध गराएको उल्लेख गरेको छ ।


बजारमा नयाँ नोट बढेपछि राष्ट्र बैंकलाई सफा नोट नीति कार्यान्वयन गर्न पनि सजिलो भएको छ । यो नीतिमा केरमेट भएका र पुराना नोटलाई बजारबाट फिर्ता लैजाने गरिन्छ ।