काठमाडौं । दशैं, तिहार जस्ता चाडपर्वमा मिठाईको महत्व धेरै हुन्छ । घर बाहिर रहेका व्यक्तिहरुले घरमा जाँदा होस् वा आफन्त भेट्दा नै, उपहारका लागि मिठाइ नै सजिलो र उत्तम वस्तु मानिन्छ । बडा दशैं विशेष गरेर मासु खाने चाडका रुपमा परिचित भएपनि शाकाहारीहरुका लागि मिठाई पहिलो प्राथमिकतामा पर्ने गर्दछ ।
तर, यस पटकको दशैं, तिहार जस्ता चाडपर्वमा पनि अघिल्लो बर्ष झैं मिठाइको महत्वले स्थान प्राप्त गर्न सकेन । गत वर्ष दशैंका बेला वाणिज्य विभागले गरेको अनुगमनका क्रममा व्यवसायीहरुले मिठाईमा अखाद्य वस्तुको प्रयोग गर्ने गरेको खुलासा भएसँगै मिठाईको प्रयोग गर्ने संख्यामा अत्यधिक कमी आएको देखिन्छ ।
पछिल्लो समय व्यवसायीहरुले उपभोक्ताको विश्वास कायम गर्न नसक्दा नै बजारमा प्रभाव परेको देखिन्छ । रकम कमाउने नाममा व्यवसायीहरुले आम उपभोक्ताको स्वास्थ्यप्रति पूर्ण गैरजिम्मेदार बनि अखाद्य र गुणस्तरहिन वस्तुको प्रयोग गरी मिठाई, गुँदपाक जस्ता खाद्यान्न बेचिरहेको तथ्य सार्वजनिक भए लगत्तै मिठाईको व्यापार घटेको हो ।



