कांग्रेस सभापति सुशील कोइरालाले पार्टी निर्णयको विरोध गर्ने पूर्वसभासद्लाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
भक्तपुरमा शनिबारदेखि सुरु भएको नगरसभापति भेलामा कोइरालाले पार्टी निर्णयविरुद्ध नलाग्न पूर्वसभासद्हरुलाई आग्रह गरे । संविधानसभा पुनःस्थापनाको विकल्प बन्द गर्दै केन्द्रीय समितिले नयाँ निर्वाचनमा जाने निर्णय गरेको भोलिपल्टै ७८ सभासद्ले विरोधमा विज्ञप्ती जारी गरेका थिए ।
‘पार्टी निर्णयविरुद्ध लाग्नु अराजकता र अनुशासनहीनता हो,’ कोइरालाले भने, ‘पार्टीले अनुशासन नमान्नेहरुलाई खपेर राख्न सक्दैन ।’ निर्वाचनमा जनताको चाहना भएको उल्लेख गर्दै उनले भने, ‘कांग्रेस पनि आम जनताको पार्टी हो, जनताको चाहनाअनुसार नै निर्णय गर्दछ ।’
संविधानसभा पुनःस्थापना पक्षधर उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवाले पनि ताजा जनादेशमै जानुपर्ने धारणा राखे । ‘पार्टीले निर्णय नगर्दा परिस्थिति भिन्नै थियो,’ पौडेलले भने, ‘अब नयाँ चुनावमा जाने निर्णय भइसकेको छ, सवैले एउटै कुरा बोल्नुपर्छ ।’
देउवाले पुनः संविधानसभाको चुनाव गर्दा पनि संविधान बन्ने ग्यारेन्टी नभएकाले पुनःस्थापना रोजे पनि पार्टीले निर्णय गरेपछि त्यसमै सहमति जनाउनुपर्ने बताए । उनले पुनः चुनाव गर्दा खर्चिलो हुने उल्लेख गरे ।



