पूर्व अर्थमन्त्री तथा गभर्नरहरुले राजनीतिक सहमतिमा मात्र बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज विहान भएको छलफलमा उनीहरुले एकलौटी बजेट नल्याउन सुझाव दिए । राजनीतिक तहमा सहमति गरेर आउने बजेट मात्र कार्यान्वयन हुन सक्ने भएकाले बजेटमा विवाद भन्दा पनि सहमति निर्माण गर्नुपर्ने छलफलमा सहभागीहरुको सुझाव थियो ।
बैठकपछि पूर्वअर्थमन्त्री डा.रामशरण महत र सुरेन्द्र पाण्डेले सहमतिमै बजेट आउनुपर्ने कुरा आफूहरुले राखेको बताए । उनलीहरुले आफूहरुको सुझावमा एमाओवादी अध्यक्ष दाहाल सकारात्मक देखिएको जानकारी दिए ।
अर्थमन्त्री बर्षमान पुनले पनि सहमतिमै बजेट आउने बताए । उनले बजेट ल्याउनका लागि राजनीतिक सहमति अनिवार्य भएकाले शीर्ष नेताहरुबीच हुने बैठकले बजेटको विवाद अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्रीले पनि दलहरु बजेटका लागि सहमतिमा सकारात्मक भएकाले समयमै बजेट आउने जनाए ।
छलफलमा प्रधानमन्त्री बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व गभर्नर तिलक रावललगायतको पनि सहभागिता रहेको थियो ।